काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा  कमालको प्रगति गरेको छ । 

यो बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ करिब १०३  प्रतिशतको  छलाङ मारेको हो । 

अघिल्लो आबको यही अवधिमा यो बैंकले ३१ करोड नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर समीक्षा अवधिमा  ६३ करोडको  उचाईमा पुर्याएको हो ।

कामु सीइओ जीवन भट्टराईको  नेतृत्वमा चलेको यो बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि उस्तै फड्को मारेको छ । अघिल्लो आबको यही अवधिमा बैंकको यस्तो आम्दानी ७७ करोड १० लाख रहेकोमा यो वर्ष बढेर १ अर्ब २२ करोड ८२ लाखको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष ४७ करोड १० लाख रहेको संचालन नाफा समेत बढेर ८५  करोड ३७ लाखको उचाईमा पुगेको छ । 

बैंकले समीक्षा  अवधिमा ५२ अर्ब ७३ करोड निक्षेप संकलन गरी ५० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा सेञ्चुरी बैंकले ३३ अर्ब १४ करोड निक्षेप संकलन गरी ३० अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा रिजर्बकोषलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ९३ करोड २८ लाख रहेको कोषको आकार बढी १ अर्ब २१ करोड २३ लाखको बनेको हो ।

यो अवधिमा बैंकले संभावित जोखिम व्यवस्थापन कोषबाट १३ करोड २० लाख फिर्ता ल्याएको देखिएको छ । 

बैंकको निस्क्रिय कर्जा भने केही बढेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा ०.५३ प्रतिशत रहेको यस्तो कर्जा बढेर ०.७६ प्रतिशत पुगेको हो । तर, अघिल्लो त्रैमासको तुलनामा भने घटेको देखिएको छ ।

तेश्रो त्रैमाससम्म सेञ्चुरी बैंकको सीडी रेसियो ७८.१८ प्रतिशत रहेको छ भने इक्वीटीमा प्रतिफल ९.७२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष ११.२४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष १०.४२ रुपैयाँ कायम भएको छ ।