-सुदर्शन रेग्मी
काठमाण्डौ । सही मागसहित सही बाटो समात्नेलाई कसरी सबैले पछ्याउँछन् भन्ने कुरा नेपालको सेयर बजारको पछिल्लो परिदृश्यले पुष्टि गर्न थालेको छ । 

विगत लामो समयदेखि पूँजीबजारको विकास र बिस्तारका लागि मरिमेटेर लागिपरेका छौ भन्ने सेयर लगानीकर्तासँग सम्बद्ध संघसंगठनहरु पछिल्लो समय केही दिनअघि मात्र बनेको लगानीकर्ताहरुको दवाब समूहको पछाडि लाग्न बाध्य छन् यतिबेला । आखिर चार–चार वटा संगठन हुँदा समेत उनीहरुले अहिले सुरु भएको रिले अनसन लगायतको आन्दोलनको नेतृत्व किन गर्न सकेनन् ? अथवा, उनीहरुले विगतमा संचालन गरेको आन्दोलनमा अर्थमन्त्री, नियामक धितोपत्र बोर्ड लगायतलाई दवाब सिर्जना गर्न किन सकेनन् ? बजारमा चर्चा र समीक्षा हुन थालेको छ । 

अहिले सेयर बजारका लगानीकर्ताको आशाको केन्द्र बनेको र सेयर बजारका मुद्धाहरुलाई पुनर्जीवन दिएको लगानीकर्ताको दवाब समूहमा तिनै युवाहरुको सहभागिता छ, जसले मंसिर १० गते नेप्सेमा भएको प्रदर्शनमा लगानीकर्ताका चारवटा संगठनका नेतालाई चार संगठनलाई एकीकृत गर्न र जुटेर आई लगानीकर्ताको पक्षमा लड्न आग्रह गरेका थिए । यही समूहले त्यो दिन लगानीकर्ताका नेताहरुलाई चिया बिस्कुटमा बिक्ने, लगानीकर्ताको टाउकोमा टेकेर संगठनको आडमा भित्रभित्रै सम्झौता गर्ने लगायतका संगीन आरोप समेत लगाउन पछि परेको थिएन । 

सेयर लगानीकर्ताको संगठन धेरै भएको र एक भएर अगाडि बढे मात्र नेतृत्व मान्छौ भन्ने युवाहरुको सक्रियतामा गठन भएको दवाब समूहको मागलाई शिरोधार्य गरेर चारवटै सेयर लगानीकर्ताका संगठनहरुले एकताको कुरामा जाने आँट त गरेनन् नै, बरु अहिले सार्वजनिक ठाउँमै आफूहरुको नेतृत्व र भूमिकामाथि प्रश्न उठाएका युवाहरुको समूहलाई पछ्याउन बाध्य हुन पुगे । यसलाई नेताहरुको रहर नभई परिस्थितिले निम्त्याएको बाध्यताको रुपमा लिन सकिन्छ । 

‘यसले समेत लगानीकर्ताका संगठनका केही नेताहरु विगतमा संगठनको आडमा के गर्थे भन्ने प्रष्टिन्छ ।’ बजारका एक विश्लेषकले नाम उल्लेख नगर्ने शर्तमा भने–‘लगानीकर्ताहरुले अस्तित्वमा रहेका संगठनलाई भन्दा युवाहरुको जोशलाई साथ दिएका देखियो । अस्तित्वमा रहेका संगठनका नेताको भूमिकाप्रति ती युवाले जसरी नेप्से परिसरमा प्रश्न उठाएका थिए, आम लगानीकर्ताको शंका समेत त्यही थियो भन्ने कुरा यहीँबाट पुष्टि हुन्छ ।’ 

ती विश्लेषकको भनाईमा आफूमाथि आएको संगीन आरोपको खण्डन नगरी लगानीकर्ताका पुराना संगठन दवाब समूहकै पछि लाग्नुले उनीहरुमाथिको आरोप सही थिए भनी तर्क गर्नेलाई बल मिल्दछ । 

जहाँ समूह, त्यहाँ नेता !
त्यसो त लगानीकर्ताको दवाब समूहको सक्रियता देखेर प्रारम्भदेखि नै लगानीकर्ताका केही अस्तित्वमा रहेका संगठनले बठ्याईपूर्वक त्यहाँ आफ्नो सहभागिता दर्शाइरहेका छन् । दवाब समूह हुनुअघिसम्म मौन बस्ने केही नेताहरु दवाब समूहको सक्रियतामा आफूलाई समाहित गराउँदै आफू पनि सक्रिय भएको र लगानीकर्ताको मागप्रति गम्भीर रहेको देखाइरहेका छन् । यसले समूहमा छिर्न नेताहरु कति खप्पीस हुन्छन् र मासको मूभमेन्ट अनुसार आफूलाई कसरी ढाल्छन् भन्ने कुरा पनि देखाउँछ । 

सरसर्ती हेर्दा अस्तित्वमा रहेका चारवटा लगानीकर्ताका संगठनमध्ये नवराज सुवेदी नेतृत्वको पूँजीबजार संघ, उत्तम अर्याल नेतृत्वको सेयर लगानीकर्ता संघले दवाब समूहको रिले अनसनलाई प्रारम्भदेखि नै समर्थन जनाइसकेको छ । सबैभन्दा पुरानो सेयर लगानीकर्ता संघ दवाब समूहलाई पछ्याउन अहिले बाध्य बनेको यसले देखाउँछ, यसले उसको विगतको नेतृत्वप्रति समेत प्रश्न उठ्न सक्छ । सुवेदी र अर्याल नेतृत्वको संगठनले दवाब समूहका सबै मागप्रति समर्थन जनाएको छ । 

तर, अनसनको दोश्रो दिन राधा पोखरेल नेतृत्वको संगठनले अर्थमन्त्रीको राजीनामा बाहेकका मागप्रति समर्थन गर्दै दवाब समूहको अनसनप्रति ऐक्यबद्धता जनाएको छ । योसँगै लगानीकर्ताका तीनवटा संगठन दवाब समूहलाई पछ्याउन र समर्थन गर्न बाध्य बनेको छ । 

रमाइलो पक्ष नै मान्नुपर्छ, दवाब समूहको सक्रियता र आन्दोलनको प्रभावका कारणले समेत अर्थमन्त्रालयले गठन गरेको उच्चस्तरीय अध्ययन समितिमा लगानीकर्ताका प्रतिनिधिको रुपमा दवाब समूहलाई समर्थन गर्ने तीनवटै संगठनका कोही पनि समावेश छैनन् । बरु, दवाब समूहको आन्दोलन र सक्रियताको बिषयमा हालसम्म चूसम्म नबोलेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल लगानीकर्ताको प्रतिनिधिको रुपमा अर्थमन्त्रालयबाट गठित समितिमा लगिएका छन् । 

पौडेल सत्तापक्ष निकट लगानीकर्ता मानिन्छन् । उनी बेला बेला विवादमा आइरहने लगानीकर्ताका नेता समेत हुन् । अघिल्लोपटक नेप्सेमा भएको लगानीकर्ताको आन्दोलनको क्रममा उनीमाथि चलखेल गरेको, लगानीकर्ताको सम्पत्तिमाथि खेलवाड गरेको र बजारका गिरोहसँग मिलेमतो गरेको भन्दै आक्रोशित समूहले हातपातको प्रयास समेत गरेको थियो । कतिपयले आइतबारदेखि बढेको बजारमा अर्थमन्त्रीको गिर्दो छवि जोगाउन पौडेल समूहले नै बजारमा खरिदारी बढाई नेप्से बढाएकोसम्म भन्न भ्याएका छन्, यी बिषयको स्वतन्त्र पुष्टि चाहि भइसकेको छैन ।

यसरी लगानीकर्ताको दवाब समूहको नेतृत्वमा भइरहेको आन्दोलनलाई एकातिर तीनवटा संगठनले पछ्याउने बाध्यता सिर्जना भएको छ भने इन्भेष्टर्स फोरमले भने यी सबै गतिविधि, आन्दोलन र संघर्षको एकमुष्ट जश लिन खोजिरहेको छ । काम गर्ने कालू, मकै खाने भालू जस्तो अवस्था अहिले लगानीकर्ताका संगठनबीच सिर्जना भएको छ । इन्भेष्टर्स फोरमको उच्चस्तरीय समितिमा सहभागिताले अन्य संगठनको प्रभावकारिता र उनीहरुको पहुँचको बिषयमा समेत प्रश्न उब्जिन सक्छ। 

चोखो छ दवाब समूह ?
यसरी विश्लेषण गरिरहँदा लगानीकर्ताको मागलाई बोकेर आन्दोलनमा उत्रिएको दवाब समूहका सबैजना क्लिन छन् भन्न खोजिएको हुँदै होइन । किनभने दवाब समूहको नाममा कतिपय पुरानै अनुहार समेत देखा पर्न थालिसकेका छन् । 

दवाब समूहको नाममा युवा लगानीकर्ताको सक्रियताबाट लोभिएर त्यहाँ घूसपैठको रुपमा पसेका केही व्यक्तिले यसलाई समेत विवादमा ल्याउने प्रयास गरिसकेका छन् । यिनै समूहमा आबद्ध भएका केही व्यक्तिले सेयर बजारका विश्लेषक विष्णुप्रसाद बस्यालमाथि नेप्से परिसरमै कुटपिटसम्म गरेका थिए भने उनी र मिडियाविरुद्ध नै केहीको उक्साहटमा लागेर परिचालन हुन खोजेका थिए ।

दवाब समूहको फ्रन्ट लाइनमा देखिएका केही व्यक्ति दोहोरो वा तेहेरो भूमिकामा प्रस्तुत हुने अनुहार समेत देखिएका छन् । दिउँसो–दिउँसो नेप्से अगाडि आन्दोलन गर्ने र बेलुका भएपछि ब्रोकरहरुसँग शाखा माग्ने प्रवृतिको लगानीकर्ताबाट दवाब समूहका स्वच्छ छविका लगानीकर्ताले बच्न आवश्यक छ । यस्तै, एकैपटक चारवटा व्यवसायमा संलग्न भएको देखाउने र व्यवसायिक धर्म पालना नगरी समय अनुसार रंग फेर्नेहरुसँग समेत दवाब समूह बच्न आवश्यक छ । 

आन्दोलनले गति लिएपछि र सक्रियता प्रभावकारी बन्दै गएपछि समूहलाई बदनाम गराउने षड्यन्त्र हुनसक्छ, किनभने विगतमा लगानीकर्ताको नाममा मैदानमा देखिएका धेरै पात्र कुनै न कुनै गिरोहको सदस्यको रुपमा काम गर्ने पात्रहरु हुन् । यस्ता पात्रको चंगुलमा दवाब समूह फस्यो भने यो पनि हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुने हामी लगानीकर्तामा डर छ ।

जसको नीति, उसकै नेतृत्व भनेजस्तो जसले यो मूभमेन्टको सुरुवात गर्यो, उसैको नेतृत्व स्थापित हुन आवश्यक छ । यस्तै, सरकारले समेत लगानीकर्ताको प्रतिनिधित्व गराउँदा जसले माहौल ततायो र लगानीकर्ताको समस्याप्रति जो इमानदार देखियो, तिनीहरुलाई नै प्रतिनिधित्व गराउन आवश्यक छ । होइन भने खाई नखाई रिले अनसन गर्ने एउटा हुन्छ, अनि जश लिन्छन् अरुले । यो बिषयमा दवाब समूहका स्वच्छ छविका  प्रतिनिधि समेत सचेत हुनुको विकल्प छैन । 
(लेखक सेयर बजारका ज्येष्ठ लगानीकर्ता हुन् ।)