काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको साँगामा ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । 

सो सेवाको एक कार्यक्रमका बीच मेगा बैंक नेपाल लिमिटेडका सहायक महाप्रबन्धक मनोज खड्का र प्रमुख अतिथी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सी.ले संयुक्त रुपमा दीप प्रज्वलन गरी उद्घाटन गरे । 

सो क्रममा बोल्दै सहायक महाप्रबन्धक मनोज खड्काले मेगा बैंकको ‘हलोदेखि हाइड्रो’ भन्ने नारालाई चरितार्थ गरी ग्रामीण क्षेत्रका जनताहरुलाई बैकिङ्ग सेवा प्रदान गर्न शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरिएको बताए ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी.ले मेगा बैंकको शाखारहित बैंंकिङ्ग सेवालाई काभ्रे जिल्लामा स्वागत गर्दै बैंकले अझ विकट क्षेत्रहरुमा गई बैंकिङ्ग सेवा दिन सुझाव दिए । ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई कमाएको पैसा बचत गर्न सिकाउनुपर्ने, समाज सुधारका लागि बैंकले पहल गर्नुपर्ने विचार व्यक्त गरे । समाजको सुधार भएमात्र बैंकको पनि कार्यक्रममा सुधार आउने कुरामा जोड दिए ।

कार्यक्रममा माइक्रो बैकिङ्ग विभाग प्रमुख प्रकाश पोखरेलले मेगा बैंकको स्थापना, बैंकिङ्ग इतिहास र वर्तमान अवस्थाको बारेमा सहभागीलाई अवगत गराएका थिए । 

कार्यक्रमको अवसरमा मेगा बैंक निजी बैंकहरुमध्ये पूँजीको हिसाबले दोश्रो ठूलो बैंक भएको र बैंकको शाखा सञ्जाल हाल १०१ वटा रहेको साथै देशभर ११९ वटा शाखा रहित बैंकिङ्ग सेवा खोली सेवा दिएको जानकारी गराइयो ।