काठमाण्डौ । प्राय बहुप्रतिष्ठित कम्पनीहरुले ठूला पदहरुमा कर्मचारी लिनुपर्दा हाइ तलब स्केल र उस्तै सेवासुविधाको अफर गरिरहेका हुन्छन् । तर, के तपाईले कहिले सुन्नुु भएको छ कि धाईआमाको नोकरीका लागि हाइस्केलको तलब, करिब ५ करोडको कारको सुविधा लगायतको अफरको कुरा ? हजुर, लण्डनमा बस्ने एक पैसावाल परिवारले आफ्ना बच्चाहरुका लागि धाईआमाको विज्ञापन निकाल्दै १ अर्ब ३२ करोड बराबरको वार्षिक तलब र ५ करोड मूल्यको गाडीको सुविधा समेत दिने अफर गरेका छन् । 

के हो कुरा ?
एक मिडिया रिपोर्टका अनुसार लण्डनमा बस्ने यो पैसावाल परिवारले आफ्ना २ देखि १५ वर्ष उमेर समूहका ४ बच्चाका लागि धाईआमा खोजिरहेको छ । यसका लागि बच्चाकी आमाले यूूकेको एक वेबसाइट childcare.co.uk मा एक विज्ञापन प्रकाशन गरेकी छिन् । विज्ञापनमा भनिएको छ कि धाईआमाको रुपमा काम गर्नेलाई वार्षिक तलब १ अर्ब ३२ करोड रुपैयाँ(डलरबाट कन्भर्ट गरिएको)को हाराहारीमा प्राप्त हुन्छ । यस अलावा अनुुभवी सेफबाट बनाइएको खाना, अन्तर्राष्ट्रिय भ्रमण, पारिवारिक सदस्यको हैसियत, रेञ्ज रोभर तथा मर्सिडिज जस्ता महंगा गाडीको सुविधा समेत उपलब्ध गराइनेछ । 

यस्ता छन् शर्त 
धाईआमा बन्न चाहनेले बालमनोविज्ञान बिषयमा मास्टर डिग्री उत्तीर्ण गरेको हुनुपर्नेछ । उम्मेद्वारको आफ्नै बच्चा हुनुु हुँदैन । धाईआमा वा चाइल्ड केयरिङ सम्बन्धी कामको १५ वर्षे अनुुभव प्राप्त हुनुपर्नेछ । उम्मेद्वारले आत्मरक्षा सम्बन्धी तालिम लिएको हुनुपर्नेछ । यस्तै, यदि जागिरका लागि पक्का गरिएको कुनै उम्मेद्वारलाई मार्सल आर्ट आउँदैन भने त्यस्तो तालिमको व्यवस्था बच्चाका आमाबुुबाले नै गरिदिनेछन् । 

चार ठाउँमा घर
यो परिवारको लण्डन, बारबडोस, केप टाउन र अटलान्टामा चारवटा घर छन् । यही कारण धाईआमा बन्नेले हप्ताका तीनपटकसम्म अन्तराष्ट्रिय यात्रा समेत गर्नुपर्ने हुनसक्छ । फाइनल गरिएको उम्मेद्वारले परिवारसँग एक नन् डिस्क्लोजर एग्रीमेन्टमा साइन गर्नेछ । 

कतिघण्टा काम गर्नुपर्छ ?
धाईआमाले साताको ६ दिन बिहान ७ बजेदेखि राति ८ बजेसम्म काम गर्नुपर्ने हुन्छ । उसले स्कूल जाने बच्चाको क्लासवर्कमा समेत भाग लिनुपर्ने हुन्छ । होमवर्क गराउने काममा पनि मद्धत गर्नुपर्ने हुन्छ । धाईआमालाई कार चलाउन समेत आउनुपर्नेछ । यस्तै, उनले परिवारका सबै महंगा कारहरु ढुक्कसँग प्रयोग गर्न पाउनेछिन् । 

रक्सी र लागूऔषध प्रयोगमा प्रतिबन्ध
बच्चाकी आमाले प्रकाशन गरेको विज्ञापनमा धाईआमाले आफ्नो फ्रि टाइममा के गर्छिन् त्यसमा आफूहरुलाई कुनै मतलब नहुने बताएकी छिन् । तर, रक्सी पिउनुु र लागूूऔषध प्रयोग गर्न पाइनेछैन, लुकीछिपी यी दुुई चिज सेवन गरेको फेला परेकै दिनदेखि धाईआमाको जागिर चट् हुनेछ । 

वास्तविक हो विज्ञापन
यस्तो विज्ञापन दिने परिवार तथा ती बच्चाकी आमाको सम्पूर्ण विवरण त बाहिर आएको छैन, तर मिडियाहरुका अनुसार यो विज्ञापन वास्तविक हो । बच्चाकी आमाका अनुसार विज्ञापनपछि यो जागिरका लागि ३ सय भन्दा बढी आवेदनहरु प्राप्त भइसकेका छन् । तर, हालसम्म कुनै पनि उम्मेद्वार विज्ञापनमा राखिएको सबै शर्त पूरा गर्ने खालका छैनन् ।