पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यलाई नै कंगाल बनाउने जस्ता निर्णय गरेको आरोप लगाउनुभएको छ । 

सामुदायिक रेडियो प्रसारक संघको यहाँ आयोजित १३ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले वर्तमान कामचलाउ सरकारले गरेका सबै निर्णय मान्य नहुने बताउनुभयो । 

संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताउँदै अध्यक्ष ओलीले संशोधनका नाममा देशलाई दूरगामी रुपमा असर पार्ने, देश टुक्र्याउने जस्ता निर्णय गर्न नसकिने स्पष्ट गर्नुभयो । 

नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा रु ६० अर्ब खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिन वर्तमान सरकारले खोजेको पनि उहाँले बताउनुभयो । 

आगामी सरकार सञ्चारमाध्यममैत्री बन्ने विश्वास दिलाउँदै पूर्वप्रधानमन्त्री ओलीले प्रत्येक सञ्चारमाध्यमले समाज र राष्ट्रका हितमा आफूलाई उभ्याउनुपर्नेमा जोड दिनुभयो । 

सभामा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सामाजिक रुपान्तरणका क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसायोग्य भएको बताउँदै अब बन्ने सरकारले सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउने जानकारी दिनुभयो । 

नेपाली काँग्रेसका प्रवतmा विश्वप्रकाश शर्माले काँग्रेस पाँच वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताउँदै पद बाँडफाँटका नाममा गठबन्धन नफुटाल्न वाम गठबन्धनलाई शुभकामना दिनुभयो । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले संविधानलाई सर्वस्वीकार्य गराउन संविधान संशोधन हुनुपर्नेमा जोड दिनुभयो । 

रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, प्रदेशसभाका नवनिर्वाचित सदस्य आशा कोइराला, एमालेका नेता डा गंगालाल तुलाधर, एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापा, सामुदायिक रेडियोको विश्व संगठनका सहअध्यक्ष मीनबहादुर शाही, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलगायतले सामुदायिक रेडियोले खेलेको भूमिकाबारे धारणा राख्नुभयो । 

देशभरका तीन सयभन्दा बढी सामुदायिक रेडियोको सहभागिता रहेको उक्त साधारणसभामा देश संघीयतामा गएका बेला सामुदायिक रेडियोले खेल्नुपर्ने भूमिकालगायत विषयमा छलफल गरी निष्कर्ष निकालिने छ ।