काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई उपाय सर्भिसेस मार्फत प्रवाह गरिने सेवामा विशेष छुट दिने गरी सम्झौता सम्पन्न भएको छ ।

उपाय सर्भिसेज लिमिटेड कानून, वित्तीय व्यवस्थापन र प्रविधिको क्षेत्रमा अनुभव बटुलेका व्यावसायिक व्यक्तिहरुद्वारा सञ्चालित एक डिजिटल प्लेटफर्म हो । यस अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित सेवा, मालपोत-नापी कार्यालयबाट प्रदान गर्ने सेवा लगायतका विविध सेवाहरु प्रदान गर्ने गर्दछ । बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने विभिन्न सुविधा लिदाँ विशेष छुट सहित सहुलियत दरमा सेवा दिने उपाय सर्भिसेज लिमिटेड सँग सम्झौता भएको छ ।

यसका साथै उपाय सर्भिसेजले बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु समेत दिने बताइएको छ । यो सहमति अनुरूप कामना सेवा विकास बैंक लिमिटेडबाट कर्जा सम्बन्धी सेवा लिने ग्राहकहरुले (विशेषगरी साना तथा मझौला) उपाय सर्भिसेज मार्फत विशेष छुट सहित सहज र छरितो रुपमा सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रविण बस्नेत र उपाय सर्भिसेस लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष  सुमन रायमाझीले हस्ताक्षर  गरे । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ ।