काठमाण्डौ । शाखा सञ्जाल बिस्तारमा आक्रामक बनिरहेको कामना सेवा विकास बैंकको खूद नाफा घटेको छ। 

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २१ करोड २१ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.०३ प्रतिशतले कम हो । 

अघिल्लो वर्ष ३३ करोड ८६ लाख रहेको संचालन मुनाफा समेत घटेर ३३ करोड १४ लाखमा सीमित भएको छ । 

खूद र संचालन मुनाफा घटे पनि बैंकको खूद ब्याज आम्दानी भने करिब २२ प्रतिशतले बढेर ५९ करोड ९४ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा कामना सेवा विकास बैंकले २० अर्ब २७ करोड निक्षेप संकलन गरी १७ अर्ब ९० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ४१ प्रतिशतले बढेको देखिएको छ भने कर्जा बिस्तारमा ३६.९० प्रतिशतको बढोत्तरी भएको छ । बैंकको निक्षेप र कर्जातर्फको प्रगति सन्तुलित देखिएको छ। 

बैंकले अघिल्लो वर्षसम्म १ अर्ब ५ करोडमा सीमित रिजर्बको आकार बढाएर १ अर्ब १२ करोडको उचाई चुमाएको छ । 

चुक्तापूँजीमा २१.३३ प्रतिशतले बढाएको बैंकले खूद नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी १४.७५ रुपैयाँबाट घटेर ११.३० रुपैयाँमा सीमित भएको छ । 

बैंकले १.९३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.०७ प्रतिशतमा झारेको छ । यसरी हेर्दा वित्तीय स्वास्थ्यका लागि खराब संकेत मानिने खराब कर्जा ४४.५६ प्रतिशतले घटाउन बैंक व्यवस्थापन सफल देखिएको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४५.०४ रुपैयाँ र मूल्य आम्दानी १२.६५ गुणा कायम भएको छ ।