काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ९.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

असार १४ गते शनिबारका दिन काठमाडौं डिल्लीबजार स्थित अमृत भोगमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु. २,५०,२६,५५,५१९.२३ को ८ प्रतिशतका दरले हुन आउने रकम रु. २०,०२,१२,४४१.५४ नगद लाभांश र १.५ प्रतिशतले हुने रकम रु. ३,७५,३९,८३२.७९ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त साधारणसभामा बैंकको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा/नोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचिहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७५/०७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना समेत प्रस्तुत गरेका थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

शेयरधनीहरुले उठाएका जिज्ञासाको बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जवाफ दिएका थिए ।