काठमाण्डौ । नेपाल राष्ट्रबैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले बैंकहरुको सेवा पूर्ण रुपमा बन्द नहुने प्रष्ट पारेका छन् । 

बिजशालासँग कुरा गर्दै उनले सरकारले अत्यावश्यक सेवा सुचारु हुने बताएको र सो विषयमा आइतबार वा सोमबार केन्द्रीय बैंकले आवश्यक निर्णय लिने उल्लखे गर्दै भने–‘तर बैंक पूर्ण रुपमा बन्द हुँदैन । देशको जति नै खराब अवस्थामा समेत बैंक ३६५ दिन नै खुल्ला रहन्छ ।’ 

उनले बैंकहरुमा राखेको पैसा निकाल्न पाउने व्यवस्था जस्तोसुकै अप्ठ्यारो अवस्थामा समेत हुने उल्लेख गर्दै अन्य कतिपय सेवा समेत बन्द हुनसक्ने संकेत गरे । यो विषयमा सोमबारसम्ममा उचित निर्णय लिने समेत उनको भनाई छ । 

‘मान्छेले खातामा राखेको पैसा झिक्न पाउँछन्, जसरी पनि यसको व्यवस्था गर्छौ ।’ उनले भने–‘पालोपैंचो गरेर होस् वा काउण्टर चलाएर होस्, पैसा खातामा राखेको मान्छेले चाहिएको बेला पैसा झिक्न कुनै पनि बेला रोकिन्न ।’

प्रधानमन्त्रीको सम्बोधन आएलगत्तै केही बैंकरहरुले केन्द्रीय बैंकलाई मौखिक रुपमा नियमित निक्षेपको कारोबार बाहेक बैंकले दिने अन्य सेवा बन्द गर्ने व्यवस्था मिलाउन भनिसकेका छन् । 

बैंकरको यस्तो आग्रह र कामु गभर्नरको भनाईबाट बैंकका निश्चित शाखाहरु खुल्ने, निक्षेप कारोबार बाहेकका गतिविधि केही दिनसम्म बन्द हुने संभावना अधिक देखिन्छ ।