काठमाण्डौ । नेपाल राष्टबैंकको कामू गभर्नरमा चिन्तामणि शिवाकोटी नियुक्त भएका छन् । 

गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल बुधबारबाट सकिने भएपछि डेपुटी गभर्नर समेत रहेका शिवाकोटीलाई सरकारले कामू गभर्नरको जिम्मेवारी दिएको हो । 

अर्थमन्त्रालयका अनुसार कामू गभर्नरको जिम्मेवारी दिइएको पत्र मंगलबार नै शिवाकोटीलाई पठाइएको छ । उनले बुधबारदेखि कामूको जिम्मेवारी थाल्नेछन् । 

सरकारले बहालवाला गभर्नरको पदावधि सकिनु एक महिनाअघिबाटै नयाँ गभर्नर नियुक्तिको प्रक्रिया थाल्नुपर्ने संवैधानिक व्यवस्था भए पनि यसपटक भने यो प्रक्रिया मिचिएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडा नै आफ्नो पद थमौति हुने या नहुनेमा दिविधामा परेपछि यसको असर नयाँ गभर्नर नियुक्तिमा समेत देखिएको हो । 

नयाँ गभर्नर नियुक्तिका लागि हालसम्म सिफारिस समिति समेत गठन हुन सकेको छैन । अर्थमन्त्रीको संयोजकत्वमा यस्तो समिति गठन गर्ने कानूनी व्यवस्था भए पनि यसपटक त्यो समिति समेत बनेको छैन । 

अर्थमन्त्री नेतृत्वको समितिले बहालवाला एकजना डेपुटी गभर्नरसहित ३ नाम सिफारिस गर्नेछ । सिफारिस भएका ३ नाममध्ये एकजनालाई मन्त्रीपरिषद बैठकले गभर्नर नियुक्त गर्ने प्रावधान छ । 

यसैबीच, कामू गभर्नरको जिम्मेवारी पाएका चिन्तामणि शिवाकोटी समेत आगामी गभर्नरका बलिया दाबेदार हुन् । उनले आफूलाई भावी गभर्नरको बलियो दाबेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । 

उनीसँगै गभर्नरको रेसमा महाप्रसाद अधिकारी, राजन खनाल, डा. मीनबहादुर श्रेष्ठ, किरणकुमार श्रेष्ठ लगायतका अनुहारहरु मैदानमा देखिएका छन् । तर, पछिल्लो समय सत्तारुढ दल नेकपाकै सचिवालय सदस्यमध्ये केहीले अनौपचारिक भेलाहरुमा चिन्तामणि शिवाकोटी गभर्नर नबन्ने भन्दै हिँडिरहेका छन् । 

कतिपयले भने प्रधानमन्त्री नै गभर्नर नियुक्ति प्रक्रियामा समेत निर्णायक हुने भएकोले उनले चाहेमा मात्र शिवाकोटी गभर्नर बन्ने बताइरहेका छन् । तर, प्रधानमन्त्रीले विश्वास गरेका पात्र अर्थमन्त्री भएकाले उनको रोजाईको नाम समेत गभर्नरको बलियो दाबेदार हुने बताइन्छ । 

वित्तीय क्षेत्र, नेकपा वृत्त, अर्थमन्त्रालय लगायत बालुवाटारसम्मै शिवाकोटीको तुलनामा अधिकारी र खनाललाई गभर्नरको दमदार उम्मेद्वारको रुपमा चर्चामा ल्याइएको छ । यसले समेत यसपटक अनुमान गरेभन्दा वा चर्चामै नआएको कुनै नाम गभर्नरको रुपमा अगाडि आउने हो कि भन्ने संभावना समेत रहेको स्रोत बताउँछ । 

प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणका कारण समेत पछाडि धकेलिएको गभर्नर नियुक्तिको प्रक्रिया अब चाहि द्रूत गतिमा अगाडि बढ्ने अर्थमन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।