-प्रकाश बञ्जारा
यूएई । झट्ट हेर्दा पत्याउन गाह्रो हुन्छ लमजुङ्ग घर भएका राम घले दुवईमा काम गर्छन् भनेर । लगनशीलता, इमानदारिता, परिश्रमी, मिलनसार राम घलेलाई दैवले नदिएको भनेको भौतिक लम्बाई मात्र हो, तर बौद्धिक उचाईमा उनी निकै माथि छन् । 

हरेक व्यक्तिका फरक फरक ईच्छा र चाहना हुन्छन् र फरक ईच्छा चाहाना पूरा गर्न सबैले फरक खालकै संघर्ष गर्नुपर्ने हुन्छ र त्यस्तै नियम लागू हुन्छ राम घलेको जीवनमा पनि । 

युएईमै जन्मेको एक  अन्तर्राष्ट्रिय चेन होटल कम्पनीमा सुरक्षा अधिकारीको काम गर्ने राम घले दुवईमा डन बनेका छन् । तर, दादागिरी देखाएर अर्कालाई धम्काउने र चन्दा असुल गराउने प्रकारको डन भने होइन, उनी सितोरियो कराँतेका ब्ल्याक बेल्ट होल्डर अर्थात फस्ट डन हुन् । 

वैदेशिक रोजगारीमा आउने धेरै नेपाली पैसा कसरी बचत गर्ने भन्नेमै केन्द्रीत हुन्छन् । कतिपय नेपालीहरु वैदेशिक रोजगारीमा पसिना बगाएर कमाएको पैसा जाँडरक्सी तथा अनैतिक कार्यमा खर्च गरेर रित्तो हात फर्किएका उदाहरणहरु पनि नभएका होइनन् । तर, बिजशालासँग भेटिन पुगेका यी घले भने मासिक दश हजार रुपैयाँ भन्दा बढी रकम खर्च गरेर ४ बर्षदेखि सितोरिया कराँते सिकिरहेका छन् र हालै कम्मरमा कालो पेटी अर्थात ब्ल्याक बेल्ट भिर्न सफल भएका छन् । 

जिन्दगीमा २ पटक खुशीको क्षण सम्झिनुपर्दा उनी एउटा छोरीको बाबु बनेको दिन सम्झिन्छन् भने अर्को खुशीको क्षण आफूले ब्ल्याक बेल्टको परीक्षामा सफल भएर बेल्ट पाएको दिनलाई सम्झिन्छन् ।

सन् २००८ मा आफ्नो दाजुको सहयोगमा वैदेशिक रोजगारीमा दुवई भाँसिएका घलेले १० बर्ष खाडीमै बिताइसकेका छन् । दश बर्षको अवधिमा जति आर्थिक रुपले सवल भए, त्यो भन्दा खुशी यो ४ बर्षदेखि सुरु भएको सितोरियो कराँतेबाट पाएको बताउने घले लमजुङ्गको ढोडेनी गाउँविकास समिति वडा नम्बर ६ कर्तिमा जन्मेहुर्केका रहेछन् । 

हामीसँगको कुराकानीमा घलेले आफ्नो टिपको पैसाले समेत दाजुको कराँतेको खर्च जुटाउने भाई लक्ष्मण घले र उनकै आफ्नो गुरु काठमाण्डौको सामाखुसी डोजोका राजेन्द्रकुमार ओझालाई बारम्बार सम्झिरहे । 

केहीको शारीरिक स्फूर्तिका लागि कराँतेमा चासो भएता पनि निरन्तरता भने एकादुइले मात्र दिनसक्ने बताउने घलेलाई पारिवारिक सहयोग भने राम्रै मिलेको हामीले पायौं । शुरु शुरुमा श्रीमतिले हात खुट्टामा चोट लाग्छ किन सिक्नुपर्यो ? भनेता पनि पछिबाट भने राम्रै सुझाव र सहयोग दिने गरेको बताए । 

मासिक रुपमा लाग्ने खर्चको विषयमा भने उनीलाई खासै झमेला भएनछ । आवश्यक परेको बेला साथीहरुले पनि हौसला र आर्थिक रुपमा समेत सहयोग गरेको राम बताउँछन् । 

पाँच दाजुभाईमा चौथा छोरा राम उमेरको हिसाबले अहिले ३४ औं बसन्तमा छन्, तर स्फूर्ति शारिरीक मजबुति हेर्ने हो भने १८-२० भन्दा फरक पर्दैन । कडा परिश्रम र लगनशीलताले राम्रो नतिजा आउने कुरामा विश्वास गर्ने घलेले आफूले खेलकुदका क्षेत्रमा हात हालेपछि राम्रो सम्मान पाउने गरेको अनुभव पनि साट्न भ्याए। 

पहिला पहिला आफू खेल सिक्न मात्र कराँतेमा धाउने घलेको व्यस्तता अचेल भने बढेको रहेछ । आफ्नो मर्यादाक्रम बढेसँगै उनी आफूभन्दा तल्लो दर्जामा रहेका सिकारुहरुलाई सिकाउने पनि गर्दा रहेछन्, जसले गर्दा आफूलाई खेलमा क्रियाशील हुनका साथै अनुभवी हुन पनि सहयोग भएको उनले बताए । 

दुवई आउँदासम्म कराँतेको बारेमा अनविज्ञ रहेको बताउने घलेलाई केले त्यो बाटो समाउन प्रेरित गर्यो होला ? हाम्रो जिज्ञासामा उनले आफ्नो फिटनेशका लागि मात्र जान थालेको, तर अहिले भने अझ माथि जाने रहर बढ्दै गएको सुनाए । 

घलेले कराँते सिक्दै गरेको ईन्स्टिच्युडको नाम मिडिलईष्ट कराँते एकेडेमी रहेछ र भारतीय नागरिक फायद हमिद उनका गुरु रहेछन् । खेलकुद क्षेत्रमा गुरुको ठूलो सम्मान हुने कुरा पनि हामीले रामबाट थाहा पायौं ।

“हाम्रो देशमा कराँते भन्ने बित्तिकै चोर, डाँका तथा दादा बनेर अरुलाई लुट्ने मान्छे जस्तो बुझिन्छ, तर यो आफ्नो सुरक्षाका साथै तन्दुरुस्तीका लागि खेलिने खेल हो।” रामले हामीलाई कराँतेको परिभाषा दिँदै सुनाए । 

यो खेलमा कुन बुढो र कुन भर्खरको भन्ने उमेरको पावन्दी हुँदैन । व्यक्तिलाई तन्दुरुस्त राख्नुका साथै आफूलाई जुनसुकै अवस्थामा पनि तयार राख्नका लागि कराँते उपयोगी हुने घलेको बुझाई छ । देशमा कराँते भन्ने वित्तिकै नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताउने घले देशमा महिलामाथि हुने गरेको हिंसा बढेसँगै हरेक महिलालाई यो खेल सिक्न आवश्यक रहेको र यसमा नेपाल सरकारले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने सुझाए ।

चार वर्षको ब्ल्याक बेल्ट पाएका राम घले अहिले सेकेण्ड डनको यात्रामा रहेछन् । अबको २ बर्षमा सेकेण्ड डनको उपाधि पाउने अपेक्षा राखेका उनले भविष्यमा त्यस्तै कराँतेको विद्यालय खोलेर आफ्नै देशमा तालिम दिने योजना बनाएको सुनाए । आफूले खोल्ने कराँतेको विद्यालयमा महिलालाई भने निशुल्क सिकाउने उनको उद्देश्य रहेछ ।  

“बैदेशिक यात्रा भनेको हाम्रो भलपानी हो यहाँ सिकेको सिप सदुपयोग गरेर म आफ्नै देशमा केही गर्न चाहान्छु । म जहाँ भए पनि कराँते फिल्डमै हुन्छु।”–संक्षिप्त संवादलाई बिट मार्दै रामले भने ।