काठमाण्डौ । कुनै समय थियो, जतिबेला कुनै पनि मानिसलाई बिना काम पैसा दिनु उसलाई बिगार्नु सरह मानिन्थ्यो । तर अब केही देशहरुको नयाँ सोंच अनुसार यो तरिकालाई अर्थव्यवस्था सुधारको एउटा कडी मान्न थालिएको छ । जर्मनीको एक स्टार्टअप कम्पनी यही रणनीतिमा काम गरिरहेको छ । एजेन्सीहरुका अनुसार यो कम्पनीले कयौ मानिसलाई बिना काम तलब दिएर राखिरहेको छ । आखिर यसको कारण के होला त ? पढौं रोचक तथ्य :

जर्मनीको एक स्टार्टअप सन् २०१४ देखि नै मानिसलाई तलब दिएर राखिरहेको छ । तर यी मानिसहरुबाट कुनै काम लिइन्न । प्रत्येक महिना यी मानिसहरुलाई एकहजार यूरो दिइन्छ र यो क्रम बर्षभरि चल्छ । स्टार्टअपले छनौटमा परेका ८५ मानिसलाई यसरी तलब दिइरहेको छ । यी मानिसलाई चिठ्ठामार्फत चुनिएको हो । 

यो रकम कुनै सहायता, अनुदानको रुपमा नभई तलबकै रुपमा खर्च भइरहेको बताइएको छ। खबरका अनुसार यो स्टार्टअप युनिभर्सल बेसिक इनकमको एक प्रयोगका लागि यसरी मानिसलाई कामबिना नै तलब दिइरहेको छ । युनिभर्सल बेसिक इनकमको सिद्धान्त अनुसार आम मानिसलाई एक निश्चित रकम सिधा सरकार वा कुनै निजी कम्पनीमार्फत पुर्याइन्छ । यो रकम उनीहरुले कमाउने पैसा बाहेकको अतिरिक्त रकम हुनेछ । 

नोबेल पुरस्कार समेत जितिसकेका अर्थशास्त्री मिल्टन फ्रिडमेनको प्रत्यूत्पादन गरेको हेलिकोप्टर इकोनोमीमा आधारित युनिभर्सल बेसिक इनकममा मानिन्छ कि मानिससम्म सिधा रकम पुर्याउँदा आम मानिसको आफ्नो जीवन अझ राम्रो बनाउन सहायता प्राप्त हुन्छ । यसैका कारण उत्पादनमूलक उद्योगहरुको लागि माग आफसेआप बढ्छ । यसबाट सरकारी योजनाको नाममा पैसाको दुरुपयोग समेत निकै कम हुन्छ । 

समाचार अनुसार जर्मनीको यो स्टार्टअप कम्पनीले बेसिक इनकममार्फत मानिसलाई एक परिवारका लागि अत्यावश्यक न्यूनतम खर्च दिइरहेको छ । सो कम्पनीका अनुसार सर्वेक्षणको क्रममा यो पत्ता लागेको छ कि प्रत्येक महिना जरुरी खर्चका लागि रकम आउन थालेपछि परिवारले अब आफूप्रति धेरे ध्यान दिन थालेको छ । सो परिवार घुम्न थालेको छ भने बाहिर समेत दिल खोलेर खर्च गर्न थालेको छ । 

यो क्रममा परिवारको मूलीको स्वास्थ्यमा समेत निकै सुधार भएको पाइएको छ । किनभने न्यूनतम खर्च हुने रकम आएपछि उसलाई रोगबाट मुक्तिका लागि पर्याप्त समय प्राप्त भएको छ । यसअघि उसलाई घर खर्च चलाउनैका लागि पूरा निको नहुँदै काममा जानुपर्ने बाध्यता हुन्थ्यो । परिवारका अन्य सदस्यहरुका अनुसार बेसिक आय सुनिश्चित भएपछि उनीहरुले कम कमाई हुने नोकरीलाई छाडेर धेरै कमाई हुने नोकरीमा फोकस भएका छन् । यसका लागि यी परिवारहरुले क्षमता अभिवृद्धिमा समेत विशेष ध्यान दिन थालेका छन् । 

जर्मनीको यो स्टार्टअपको यो प्रयोगबाट बेसिक इनकमको पक्षमा माहौल बन्न थालेको छ । स्टार्टअपलाई समेत यो प्रोजेक्टको सुरुवातका लागि ५५ हजार मानिसबाट सहयोग प्राप्त भएको थियो, त्यही सहयोगको सदुपयोग गर्दै यसले ८५ मानिसलाई काम बिना नै तलब दिइरहेको छ । 

फिनल्याण्डमा समेत त्यहाँका २ हजार घर नहुने परिवारहरुका लागि यही खालको बेसिक इनकमको योजनामा काम भइरहेको छ । 

तर, सन् २००९ मा जर्मन संसदले यस्तै एक प्रस्तावलाई भने खारेज गरिदिएको थियो । प्रस्तावका विरोधीहरुका अनुुसार यो अवधारणाले काम नगर्ने सोंचको विकासलाई बढावा दिनसक्छ । 

तर, यो प्रस्तावका समर्थकहरुले भने यो बेसिक इनकमको अवाधारणा मात्र हो, जसले जरुरी आवश्यकता पूरा हुन्छन् । जीवनलाई अझ स्तरीय र राम्रो बनाउनका लागि मानिसले काम गर्नुपर्ने हुन्छ । 

गरीबीको संख्या अत्यधिक भएका देशहरुमा समेत बेसिक इनकमको बिषयमा पर्याप्त छलफल र बहसहरु हुन थालेका छन् । कतिपयले त यो अवधारणाले गरीबी अन्तको अभियानमा महत्वपूर्ण सफलता प्राप्त हुने तर्क समेत गर्न थालेका छन् । यो धेरै गरीबी रहेको मुलुकमा यो योजना कार्यान्वयन गर्न ठूलो बजेट चाहिने र यो असंभव जस्तै रहेको बताइने गरिएको छ ।