काठमाण्डौ । विभिन्न ब्रान्डका कारमा नेपालीको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय कार प्रयोगकर्ताको संख्यामा नेपालमा ह्वात्तै बढेको छ ।

विश्व बजारमा पेट्रोल र डिजेलको भाउ बढ्दै गइरहेको छ । इन्धनको भाउ बढ्दै जाँदा कार चलाउनेहरु आफ्नो गाडीको माइलेज पनि बढी खोज्न थालेका छन् । विशेषगरी कार चालकहरुको ध्यान कम इन्धनले बढी माइलेज प्राप्त होस् भन्ने नै मुख्य ध्येय हुन्छ ।

कतिपय अवस्थामा बजार विस्तारका लागि विभिन्न कार निर्माता कम्पनीहरुले आफ्नो उत्पादनले बढी माइलेज दिने दाबी गर्न पनि पछि पर्दैनन् । यस्तो कार खरिद गर्न खोज्नेहरु आफैँ अलमलमा पर्न सक्छन् ।

यदि माइलेजको चक्करमा कार खरिद गर्दा अलमलमा पर्नुभएको छ भने अब त्यसबाट तपाइँहरुले छुट्कार पाउनुहुनेछ । जुनसुकै ब्रान्डको कार भएमा पनि माइलेज कसरी बढाउने भन्ने केही सरल र सहज टिप्स् यहाँ दिँदैछौँ ।

यदि तपाइँले यी टिप्सहरू नियमित रुपमा पालना गर्नुभयो भने कारको माइलेजमा धैरै हदसम्म सुधार आउनेछ र माइलेजमा बढोत्तरी हुनेछ ।

१. कारको आयु लम्बाउन नियमित रुपमा सर्भिस गराउनुपर्दछ । यसले तपाइँको कारको आयु लम्बाउनुका साथै माइलेजसमेत बढाउन मद्दत गर्दछ । यदि तपाइँले लामो समयसम्म कारको सर्भिस गराउनु भएको छैन भने चाँडै नै सर्भिसिङ गराइहाल्नुस् र माइलेजमा सुधार ल्याउनुहोस् ।

२. सबैभन्दा महत्वपूर्ण कुरा कारलाई अत्याधिक स्पिडमा नचलाउनुहोस् । किनकि यसले इन्जिनमा धेरै भार पर्न जान्छ र इन्धनको खपत बढाउँछ तथा कारको माइलेज कम गरिदिन्छ । यदि तपाइँले आफ्नो कार सामान्य स्पिडमा चलाउनुभयो भने केही दिनमै माइलेज बढेको महसुस गर्न सक्नुहुनेछ । अनि कम इन्धन खपतमै लामो यात्रा तय गर्न सक्नुहुनेछ ।

३. पटकपटक गियर चेन्ज गर्दा पनि कारको माइलेज प्रभावित हुन्छ । यदि तपाइँ कार चलाउँदा पटकपटक गियर चेन्ज गर्नबाट बच्नुहुन्छ भने कारको माइलेजमा फरकपन आएको देख्न सक्नुहुनेछ ।

४. चालकहरु प्रायः ट्राफिक रेडलाइटमा कारलाई स्टार्टमै छोडिदिन्छन् र यसो गर्दा रोकिरहेको बेला पनि कार चालु नै हुन्छ । जसले गर्दा इन्धनको खपत भइरहन्छ र यसले माइलेजलाई पनि प्रभावित पार्छ । त्यसैले सडकमा रेड लाइट बल्द कारको इन्जिन बन्द गर्न नबिर्सनुहोला ।

५. यदि ट्राफिक जाम भएको बाटोमा कम यात्रा गर्नुभयो भने इन्धन कम खपत भई बढी माइलेजमा लामो यात्रा गर्न सक्नुहुन्छ । किनकि जब कार आवश्यकभन्दा कम गतिमा गुड्छ तब इन्धन पनि बढी नै खपत हुने गर्दछ । त्यसैले सकिन्छ भने जामबाट भरसक बच्ने कोसिस गर्नुहोस् । –एजेन्सी