काठमाण्डौ । धितोपत्र बोर्डले केवाइसी अपडेट नगरी सेयर किनबेच गर्न बन्देज लगाएसँगै मंगलबार घटेर ८ महिनाकै न्यून विन्दूमा पुगेको कारोबारमा बुधबार सुधार भएको छ । 

नेप्से परिसूचक ४.१६ अंकले बढेर १३३८.०१ को विन्दूमा पुगेको दिन बजारमा २२ करोड २० लाख बढीको सेयर कारोबार भएको हो । 

यसले केवाइसी अपडेट नगराई बसेका लगानीकर्ताहरुले धमाधम अपडेटको काम गरिरहेका देखाउँछ । केवाइसी अपडेट नगराएका कारण पर्याप्त लगानीकर्ताको अभावमा प्रभावित भएको बजार बजेटको प्रतिक्षाले समेत थप प्रभावित भइरहेको छ । ठूला लगानीकर्ता सरकारले जेठ ७ गते प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र जेठ १५ गते पेश हुने बजेट भाषणको प्रतिक्षा गरिरहेका छन् । 

अर्थमन्त्री नियुक्त भएदेखि नै बजारको बिषयमा विवादास्पद अभिव्यक्ति दिंदै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको बिषयमा कस्तो नीति ल्याउने हुन्, ब्रोकर कमिसनमा लाग्ने भ्याट तथा सेयर कारोबारमा लाग्ने करको मुद्धा कसरी किनारा लाग्ने हो भन्ने बिषयमा समेत लगानीकर्तामा अन्यौल रहेको देखिन्छ । यहीकारण धेरै लगानीकर्ता यी बिषयमा प्रष्टता आउने प्रतिक्षामा रही बजारमा खासै सक्रिय भइरहेका छैनन् । 

त्यसो त केवाइसी अपडेटका क्रममा राखिएको औंठाछाप लगायतका प्रावधानले गलत ढंगले बजारमा प्रवेश गरेका, बैंकमा गलत कागजातको आधारमा खाता खोली सेयर कारोबार गरिरहेकाहरु समेत बजारमा अहिले सक्रिय छैनन् । केवाइसीलाई अझ कडाईका साथ लागू गरिएको खण्डमा कालोधन बजारमा लगाउनेहरु पलायन हुने समेत यतिबेला विश्लेषण भइरहेको छ । 

यी र यस्तै कारणले सुस्ताएको बजारमा बुधबार कारोबार रकममा बढोत्तरी आउनु र नेप्से परिसूचकमा समेत सामान्य वृद्धि हुनु सकारात्मक छ । 

यो दिन बित्त समूह २.८४ अंकले घट्यो भने उत्पादनमूलकमा ६.८७ अंकको गिरावट देखियो । बाँकी सबै समूहको सूचक बढ्यो । 

बैकिङ समूह १.४६ अंकले बढ्यो भने बिमा, विकास बैंक, माइक्रोफाइनान्स समूहमा क्रमशः ०.१९, ९.२८, २२.८४ अंकको बढोत्तरी देखियो । 

होटल समूह ४६.१४ अंकले बढ्यो भने व्यापार समूह ५.८३ अंकले बढ्यो । जलविद्युत समूह १३.१३ अंकले बढेको यो दिन अन्य समूह ४.६२ अंकले वृद्धि भयो ।

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.०४ अंकले बढ्यो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.३४ अंकले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ४ लाख २३ हजार ३ सय ७६ कित्ता सेयर २२ करोड २० लाख ५१ हजार ७ सय ९७ रुपैयाँमा किनबेच भयो ।

सबैभन्दा बढी वोमी माइक्रोफाइनान्सले १ करोड ५६ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल टेलिकमले ९३ लाखको हाराहारी तथा ग्लोबल आइएमई बैंकले ७८ लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकले ७८ लाख, स्ट्याण्डर्ड चार्टर्डले ७५ लाख, एभरेष्ट बैंकले ७३ लाख, शिखर इन्स्योरेन्सले ६६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ६३ लाख, नागरिक लगानीकोषले ६२ लाख र नवील बैंकले ६० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र हिमालयन डिस्टीलरीका लगानीकर्ताले ७ प्रतिशतको हाराहारीमा कमाए ।

यो दिन वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.३१ प्रतिशतले घट्यो ।