काठमाण्डौ । एनएमबी बैंकसँग १००ः७६ को सेयर स्वाप अनुपातमा मर्जरमा गएको ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताले राम्रो मूल्य आउने भएपछि सेयर बिक्रीमा ध्यान र एनएमबी बैंकले घोषणा गर्नसक्ने आकर्षक लाभांशको आशाका कारण कतिपय लगानीकर्ताले खरीदमा दिएको ध्यानका कारण साताको अन्तिम दिन बिहीबारको सेयर कारोबारमा एनएमबी बैंक हाबी भयो । 

चार घण्टाको कारोबारमा अधिकांश लगानीकर्ताको ध्यान एनएमबी बैंककै मूल्य उतारचढाव, खरीद तथा बिक्रीतर्फ पोस्ट भएका अर्डरहरुमै केन्द्रीत भयो ।

करिब ६ महिनाअघि एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरको सम्झौता हुँदा दोश्रो बजारमा एनएमबी बैंकको प्रतिकित्ता अन्तिम बिक्री मूल्य ३८२ रुपैयाँ थियो भने ओमको मूल्इ १९७ रुपैयाँ थियो । 

एनएमबीमा ओम १००ः७६ को स्वापमा बिलय भए पनि नेप्सेले तोकेको पहिलो कारोबारको रेञ्ज प्रतिकित्ता ३५१ रुपैयाँ रहेको छ । यसको अर्थ ओमका लगानीकर्तालाई ३० प्रतिशतभन्दा माथि फाइदा भएको छ । यसले समेत लामो समयसम्म सेयर कारोबार नहुँदा पीडित बनेका ओमका लगानीकर्ताले राम्रो रिटर्न आएको बेला एनएमबी बैंकको सेयर बिक्रीमा ध्यान दिएका विश्लेषकहरु बताउँछन् । 

विगत डेढ वर्षदेखि ओमका बैंकका सेयरधनीहरुको सम्पत्ति मर्जका नाममा बन्दी भएकोले कारोबार खुलेसँगै प्यानिक सेल आइरहेको र यो क्रम अझै केही दिनसम्म रहने विश्लेषक बताउँछन् ।

ओमकै कतिपय लगानीकर्ताहरु चाहि एनएमबी बैंकले राम्रो लाभांश घोषणा गर्ने भन्दै सेयर थप्नतर्फ लागेका देखिएको छ । अन्य केही लगानीकर्ता समेत ६ महिनापछि कारोबार खुलेको एनएमबी बैंकको सेयर किन्ने दौडमा देखिएका छन् । यी सबै घटनाक्रमका कारण एनएमबी बैंकको सेयर कारोबार यो दिन ११ करोड २६ लाख बढीको भयो । यो भनेको कुल कारोबार रकमको ३०.१० प्रतिशत हो । 

एनएमबी बैंककै कारण साताको अन्तिम कारोबार दिन कुल कारोबार रकम ३७ करोड माथि भयो । 

यो दिन नेप्से परिसूचक भने ६.०५ अंकले घटी ११३१.९७ को विन्दूमा समेटिन पुग्यो ।

राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.४१ अंकले घट्यो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.४६ अंकको गिरावट आयो ।

यो दिन बैंकिङ समूह ६.६६ अंकले घट्यो भने होटल समूहमा २६.२८ अंक, जलविद्युतमा ७.२३ अंक, बित्त समूहमा ३.२६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४.६१ अंक, अन्य समूहमा ३.७ अंक, जीवन बिमा समूहमा ४०.१२ अंक र माइक्रोफाइनान्स समूहमा ०.४२ अंकको गिरावट आयो ।

व्यापार समूह १९ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा १२.१४ अंक र म्युचुअल फण्ड समूहमा ०.०४ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६३ कम्पनीका १२ लाख ९६ हजार ८७७ कित्ता सेयर ३७ करोड ४१ लाख ५० हजार ५७१ रुपैयाँमा किनबेच भयो ।

एनएमबी बैंकले ११ करोड २६ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले ५ करोड ६५ लाख, नेपाल बैंकले २ करोड ८१ लाख, नवील बैंकले १ करोड ७७ लाख बढीको कारोबार गरे । 

प्रभू बैंकको १ करोड ५० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा कृषि विकास बैंकले ७५ लाख, साना किसान विकास बैंकले ५६ लाख बढीको कारोबार गरे । 

मुक्तिनाथ विकास बैंकको ४९लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा बैंक अफ काठमाण्डूले ४६ लाख बढीको कारोबार गर्यो भने नेपाल इन्भेष्टमेन्ट बैंकको ४४ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
अघिल्लो दिन झै यो दिन पनि साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्यमा पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।

रिदी हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५.१९ प्रतिशतले घट्यो ।