काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले बिहीबार नेपाली सेयर बजारको इतिहासमै सर्वाधिक रकमको कारोबार भएको भन्दै अनलाइन सेयर कारोबार प्रणालीका कारण यो संभव भएको दाबी गरेको छ । 

एक विज्ञप्ति प्रकाशित गर्दै नेप्सेले यस्तो दाबी प्रस्तुत गरेको हो । 

नेप्सेले कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याएको थियो । तर, अनलाइन भनिए पनि यसले अझै पूर्णता पाइनसकेको र सेमीअनलाइन जस्तै मात्र रहेको प्रयोगकर्ताहरुबाट बग्रेल्ती गुनासा आइरहेका बेला नेप्सेले भने अनलाइनको प्रभावकारिता बढ्दै गएको र यसतर्फ लगानीकर्ता आकर्षित हुँदै गएका दाबी प्रस्तुत गरेको छ । 

पछिल्लो साता दिनको कारोबार तथ्याङ्कलाई हेर्दा अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताहरुको संख्या एकतिहाई अर्थात ३३ प्रतिशत हाराहारी रहेको दाबी गरिएको छ । 

माघ अन्तिमसम्मको तथ्याङ्कलाई हेर्दा दैनिक औसत कारोबार रकम १ अर्ब ४२ करोड पुगेको नेप्सेले जनाएको छ । गत वर्ष यही अवधिमा यस्तो औसत कारोबार ३० करोडमा सीमित थियो । 

नेप्सेको कारोबार प्रणालीमा सिडिएस एण्ड क्लियरिङ लिमीटेड तथा नेशनल क्लियरिङ हाउस लिमीटेडको प्रणालीमा आबद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कारोबार सम्बन्धी रकम तथा धितोपत्र भुक्तानी तथा राफसाफ गर्न गराउन सकिने भएपछि आम लगानीकर्ताले यसमा सहभागी हुन सहज महसुस गरेका नेप्सेको विज्ञप्तिमा दाबी गरिएको छ । 

नेप्सेले दोश्रो बजारमा कारोबार गरिरहेका वा इच्छुक लगानीकर्तालाई सदस्य दलालमार्फत यूजरनेम र पासवर्ड लिन समेत आह्वान गरेको छ।

ब्रोकरबाट अनलाइन कारोबार प्रणालीको यूजर नेम र पासवर्ड निःशुल्क पाइन्छ ।