काठमाण्डौ । बुल रन चलिरहेको बजारमा आइतबार तीनवटा किर्तिमान कायम भएको भन्दै नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले पुनः विज्ञप्ति जारी गरेको छ । 

प्रवक्ता मुराहरी पराजुलीद्वारा जारी विज्ञप्तिमा यो दिन तीनवटा किर्तिमान कायम भएका छन् । 

उनका अनुसार कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्याका आधारमा यो दिन नेपाली पूँजीबजारमा नयाँ किर्तिमान कायम भएको हो। 

नेप्सेले कारोबार रकम, संख्या र सेयर संख्यामा कायम भएको यो किर्तिमान अनलाइन कारोबार प्रणालीका कारण संभव भएको पुनः दाबी गरेको छ ।

नेप्सेले बिहीबार समेत कारोबार रकमले नयाँ रेकर्ड बनाएपछि त्यसको श्रेय अनलाइन कारोबार प्रणालीलाई दिंदै विज्ञप्ति जारी गरेको थियो । 

नेप्सेकाअनुसार आइतबार भएको कारोबार रकममध्ये ४४ प्रतिशत(१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) अनलाइनमार्फत भएको छ । यो दिन कारोबारमा १२ हजार २९५ लगानीकर्ता संलग्न भएकामा ३ हजार १८८ जनाले अनलाइनबाट कारोबार गरेका उसको दाबी छ । 

अनलाइनबाट उनीहरुले ४९ हजार ८४४ आदेश प्रविष्ट गरी १५ हजार १८४ को संख्यामा कारोबार गरेका बताइएको छ । 

त्यसैगरी, अनलाइनमार्फत ३८  लाख ४० हजार ९०२ कित्ता सेयर किनबेच भएको छ । 

नेप्सेका अनुसार हालसम्म अनलाइन कारोबार गर्नका लागि यूजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या २१ हजार ६७४ जना पुगेको छ।