काठमाण्डौ । सेयर बजारमा सोमबार पनि उछाल आएको छ । 

यो दिन कारोबार सुरु भएको एकघण्टामै नेप्से परिसूचक २१ अंकले बढिसकेको छ । नेप्से परिसूचक बढेर १५२५.३८ को विन्दूमा पुगेको यो समयसम्म कारोबार रकम पनि १ अर्ब २० करोड माथि पुगिसकेको छ । 

कारोबारको यही रफ्तार कारोबार अवधिभर कायम भए आज फेरि कारोबारमा नयाँ कीर्तिमान कायम हुने देखिएको छ । 

एकघण्टामा ११ हजार ८८० भन्दा बढी संख्यामा कारोबार भइसकेकोले कारोबार संख्यामा समेत नयाँ कीर्तिमान कायम हुने संभावना बढेको छ ।

कारोबार भएका सेयर संख्यामा समेत नयाँ कीर्तिमान कायम गर्ने गरी बजार अगाडि बढेको छ । 

उछालको गतिमा दौडिएको बजारमा बैंकिङ समूह, बित्त समूह र अन्य समूहका उपसूचकमा पनि उस्तै उछाल आइसकेको छ । यी समूहका उपसूचक २ देखि ३ प्रतिशतको हाराहारीमा बढिसकेका छन्। 

यो समाचार तयार पार्दासम्म निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने व्यापार समूहमा पनि गिरावट आएको छ । बाँकी सबै समूहको उपसूचक हराभरा भएका छन् । 

कारोबार रकमको आधारमा यो दिन पनि एनएमबी बैंकले लिड गरिरहेको छ । यो बैंकको ९ करोड बढीको सेयर किनबेच भइसकेको छ । यो पटक लाभांश घोषणा नगरेको प्रिमियर इन्स्योरेन्सको सेयरमूल्यमा पहिरो गइरहेको छ । सेयर बिक्रीको लहर चलेकोले यो कम्पनीले ६ करोडको हाराहारीमा कारोबार गरिसकेको छ । 

नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभू बैंक, एनआइसी एशिया बैंक, फ्रस्ट माइक्रोफाइनान्स, कुमारी बैंक र शिवम सिमेन्टले कारोबारमा चमक देखाइरहेका छन् । 

बजार खुलेको एकघण्टामै कालिका माइक्रो क्रेडिट र आरएसडिसीको सेयरमूल्यमा सर्किट लागिसकेको छ । मल्टिपर्पस फाइनान्सको सेयर मूल्य समेत पोजिटिभ सर्किट लाग्ने अवस्था नजिक छ । सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक लगायतका कम्पनीको मूल्य तीव्र रुपमा बढिरहेका छन् । 

सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्सको मूल्यमा गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतले घटिसकेको छ ।