काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा साताको अन्तिम कारोबार दिन कारोबार रकमले इतिहास रचेको छ । बिहीबार(आज) अहिलेसम्मकै सर्वाधिक २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको कारोबार भएको हो । 

बैंकिङ समूहमा लगानीकर्ताले कमाउने छाँटकाँट नदेखेपछि रियल सेक्टर, बीमा र लघुवित्त समूहका कम्पनीहरुमा विशेष आकर्षण देखिएपछि यिनै समूहमा लगानीकर्ताको भीडभाड देखियो । 

यो दिन ट्रेडिङ र म्युचुअल फण्ड उपसमूहबाहेक बाँकी १० वटै उपसमूहमा हरियाली छायो ।

आजको दिन कारोबार खुलेदेखि नै विस्तारै गतिमा उकालो लागेको बजारमा लघुवित्तका सेयरधनीहरु मालामाल बने । धेरै कमाउने कम्पनीको सूचिमा लघुवित्त समूहकै राज चल्यो । 

सेयर बजारका लागि हिजोआज चौतर्फी रुपमा सकारात्मक माहौल बनिरहेको र लगानीकर्ताहरुको विश्वास बढ्दै अब बुलिस ट्रेण्ड सुरु भइसकेको मनोविज्ञान मजबुत बन्दै जाँदा समेत आगामी दिन बजार अझै बढ्ने सम्भावना थप प्रबल बन्दै गइरहेको विश्लेषकहरुको भनाइ छ ।

पछिल्ला समयमा पुराना लगानीकर्ताहरुको बजारमा कमब्याक हुनु, हंग्री इन्भेष्टरले आक्रामक भई सेयर खरीद गर्नु र बढ्दो बजारको हल्लाखल्लीकै कारणसमेत नयाँ लगानीकर्ताहरुको भीडले ब्रोकरहाउसहरुमा खुट्टा राख्ने ठाउँसमेत नहुनुले बजार उत्सवमय बनेको छ । 

नेप्सेको अनलाइन कारोबार प्रणाली विश्वव्यापी हुनु र अन्य क्षेत्रमा विप्रेषण रकम लगानी हुने वातावरणको अभावमा बिदेशबाट समेत नेपालीहरुले सेयर खरिदारी बढाइरहेको ब्रोकरहरु बताउँछन् । विदेशमा रहेका नेपालीहरुले समेत पैसा हाल्न थालेपछि बजारको गति अझै तीव्र बनेको हो । 

साताको सुरुवाती दिनहरुमा लगानीकर्ताहरु बैंकतर्फ मोडिन खोजेपनि साताको अन्त्यतिर भने उत्पादन तथा प्रशोधन, बिमा र लघुवित्त समूहमा फर्किएका छन् । बैंकमा लगानीकर्ता धेरै दिन टिक्न नसक्नूले आगामी दिनमा समेत बिमा, माइक्रोफाइनान्स र उत्पादन तथा प्रशोधन समूहकै कम्पनी चम्किने आँकलन गर्न सकिन्छ । 

यो दिन नेप्से परिसूचकमा २९.३२ अंकको उछाल आई १४३४.५७ को विन्दूमा उक्लिएको छ । 

यो दिन बलिया र राम्रा कम्पनीको सेयरमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ४.५ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.८४ अंकको बढोत्तरी देखियो । 

यो दिन व्यापार समूहको सूचकमा ९.८५ अंकको गिरावट आयो भने म्युचुअल फण्ड समूहमा ०.०४ अंकले घट्यो । 

बाँकी सबै समूहको सूचक हराभरा भए । 

बैंकिंग समूह ७.९ अंकले मात्र बढेको यो दिन बिमा र माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले पैसा छापे । जीवन बिमा समूहको उपसूचक ३८५.३९ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहको सूचकमा ३७४.०१ अंकको उछाल आयो । 

माइक्रोफाइनान्स समूहको उपसूचक १५९.३२ अंकले दौडिएको यो दिन होटल समूहहमा ४९.२७ अंक, विकास बैंक समूहमा १०.०४ अंक, जलविद्युत समूहमा १३.९२ अंक, बित्त समूहमा ६.४२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ९७.२६ अंक, अन्य समूह ९.०३ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा कारोबार रकमले इतिहास बनाएको छ । १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता सेयर २३ हजार ९०० कारोबारबाट २ अर्ब ७८ करोड ५० लाख ४ हजार ९०८ रुपैयाँमा किनबेच भए । 

सबैभन्दा बढी शिवम सिमेन्टले १७ करोड बढीको कारोबार गर्यो । 

हिमालयन डिस्टीलरीले १२ करोड २२ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले १२ करोड १५ लाख, ग्रामीण विकास लघुवित्तले ११ करोड, शिखर इन्स्योरेन्सले १० करोड ६३ लाख, नेको इन्स्योरेन्सले ८ करोड ३० लाख, नागरिक लगानी कोषले ८ करोड, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ७ करोड ७८ लाख, मेरो माइक्रोफाइनान्सले ७ करोड २ लाख र नेपाल इन्स्योरेन्सले ६ करोड ६२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन १० कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

बोटलर्स नेपाल तराई लिमीटेड, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, एनएमबी माइक्रोफाइनान्स, कालिका माइक्रो क्रेटिड, मेरो माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, आरएसडिसी लघुवित्त, तारागाउँ रिजेन्सी होटल, बुटवल पावर कम्पनी र ग्रामीण विकास लघुवित्तको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

नेरुडे लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सको मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो भने महिला सहयात्रा माइक्रोफाइनान्स र डिप्रोक्स लघुवित्तका लगानीकर्ताले समेत ९ प्रतिशतको हाराहारीमा सम्पत्ति बढाए । 

यो दिन रादी विद्युत कम्पनीका लगानीकर्ता अभागी ठहरिए । बजार उछालको गतिमा कुदेर कैयौ लगानीकर्ताले पैसा छापेको यो दिन रादीका लगानीकर्ताले भने ४.३९ प्रतिशतको दरले सम्पत्ति गुमाउन पर्यो ।