काठमाण्डौ । बुलिस गतिमा कुदेको बजारमा आइतबार २ वटा गतिला रेकर्ड भएका छन् । यो दिन बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । 

नेप्सेमा यो दिन हालसम्मकै सर्वाधिक ३ अर्ब ६० करोड बढीको कारोबारको रेकर्ड बनेको छ भने यही दिन किर्तिमानी कारोबार संख्याको रेकर्ड समेत बनेको छ । 

बिहीबारको ऐतिहासिक कारोबार रेकर्डलाई समेत ब्रेक गर्दै आइतबारको बजामा ३ अर्ब ६० करोड बढीको हालसम्मकै सर्वाधिक कारोबार भएको हो । 
यस्तै, यो दिन बजारमा ३० हजार ४५६ वटा कारोबारको रेकर्ड समेत बनेको छ । यसअघि २०७६ साउन २३ गते नेप्सेमा सबैभन्दा बढी २९ हजार बढी कारोबार भई रेकर्ड बनेको थियो । सोबेला एकैदिन २९ हजार ४९६ वटा कारोबार भएको भन्दै नेप्सेले विज्ञप्ति नै जारी गरेको थियो । एकैदिन सबैभन्दा धेरैवटा कारोबारको त्यो रेकर्डलाई आइतबारको नयाँ रेकर्ड विस्थापन गरिदिएको हो । 

बैंकहरुको आधार दर लगातार घटी कर्जाको ब्याजदर दिनहुँ घट्न थालेपछि र बजारमा नयाँ अर्थमन्त्रीको आगमनको हल्ला चलेपछि यसले साताको सुरुवातमै बजारको आक्रामक ओपनिङ संभव भएको हो । बजार विकासको सहज वातावरण बनेसँगै लामो समयसम्म पर्ख र हेरको रणनीतिमा रहेका संस्थागत लगानीकर्ता(म्युचुअल फण्ड, बैंक तथा वित्तीय संस्था तथा बिमा कम्पनी)हरु समेत आइतबारदेखि आक्रामक रुपमा बजार प्रवेश गरी ठूलो परिमाणमा सेयर खरीद गर्न थालेका छन् । यसले समेत समग्र बजारको तरंगलाई थप प्रभावकारी बनाउँदै लगेको देखिन्छ । 

बजारमा प्रत्येक दिनजसो उत्सवको झल्को दिनगरी बसन्तको बहार झै बुलिस ट्रेण्ड छाएपछि ब्रोकर हाउसहरुमा नयाँ र पुराना लगानीकर्ताको थामिनसक्नु घूइँचो देखिन थालेको छ । पुराना लगानीकर्ताहरु समेत आक्रामक रुपमा बजारमा आएका छन् भने नयाँ समेत आक्रामक रुपमै केवाइसी भर्दै कारोबार कोड लिएर दोश्रो बजार कारोबारमा सक्रिय बन्न थालेका छन्। 

यो दिन नेप्से परिसूचक बढेर १५१० माथि पुगिसकेको थियो, तर बजार बन्द हुँदा केही सम्हालिएर ६९.५६ अंकको बढोत्तरीसहित १५०४.१४ को विन्दूमा अडिएको छ । बजारको यो विन्दू भनेको ३२ महिनाकै सर्वाधिक विन्दू हो । 

यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा आक्रामक खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स १७.०७ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि यो दिन ५.४ अंकको बढोत्तरी देखिएको छ । 

बजार बुल रनमा कुदे पनि लामो समयसम्म बढ्न नसकेको बैंकिङ समूहमा यो दिन उछाल आएको छ । यो समूहको उपसूचक ८६.०१ अंक(७.१५ प्रतिशत)ले बढेको छ । 

व्यापार समूहको उपसूचकमा ८.२५ अंकको बढोत्तरी भएको छ भने विकास बैंक समूहको उपसूचकमा ४.५ प्रतिशतको उछाल आएको छ। 

होटल समूह ११.७७ अंक(०.६प्रतिशत), जलविद्युत समूह ३३.७५ अंक(३.२१ प्रतिशत), बित्त समूह २२.५६ अंक(३.३४ प्रतिशत), निर्जीवन बिमा समूह १३९.८५ अंक(१.९७ प्रतिशत), उत्पादन तथा प्रशोधन समूह ३८.६२ अंक(१.३३ प्रतिशत), अन्य समूह २४.६३ अंक(३.४२ प्रतिशत), माइक्रोफाइनान्स समूह ५४.८९ अंक(२.०६ प्रतिशत), जीवन बिमा समूह १९२.३६ अंक(२.२७ प्रतिशत), म्युचुअल फण्ड समूह ०.२८ अंक(२.७ प्रतिशत)ले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
कारोबारमा इतिहास कायम भएको यो दिन बजारमा १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर ३० हजार ४५६ कारोबारमार्फत ३ अर्ब ६०  करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी एनएमबी बैंकले १२ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार गरेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सले ११ करोड ८२ लाख, शिखर इन्स्योरेन्सले १० करोड ३७  लाख, हिमालयन डिस्टीलरीले १० करोड ३४ लाख, ग्रामीण विकास लघुवित्तले ९ करोड ८२ लाख, नागरिक लगानीकोषले ९ करोड ७० लाख, प्रभू बैंकले ९ करोड ४६ लाख, एनआइसी एशिया बैंकले ९ करोड २८  लाख, शिवम सिमेन्टले ८ करोड ८९ लाख र ग्लोबल आइएमई बैंकले ७ करोड ४० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ९ वटा कम्पनीको सेयर मूल्यमा उछाल आई सर्किट लाग्यो । 

फ्रस्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, स्वदेशी लघुवित्त, कालिका माइक्रो क्रेडिट, मेगा बैंक, आरएसडिसी लघुवित्तको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

यस्तै, एभरेष्ट बैंकको प्रिफरेन्स सेयरको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ । एसबीआई बैंकको मूल्य र आइसीएफसी फाइनान्सको मूल्यमा पनि करिब १० प्रतिशत हाराहारीकै बढोत्तरी भयो । 

साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्य ९.४६ प्रतिशतले बढेको यो दिन रिलायन्स फाइनान्स, सानिमा बैंक, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत हाराहारीको गिरावट आयो ।