काठमाण्डौ । सेयर कारोबार खुलाउने विषयमा पनि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबीच दन्द देखिएको छ । 

नेप्सेले आफ्नो संचालक समितिको निर्णय भन्दै आइतबार कारोबार खुल्ला गरेपछि यस्तो अवस्था देखिएको हो । 

नेप्सेका प्रमुख चन्द्रसिंह साउदले संचालक समितिले बजार खुलाउने निर्णय गरेकोले सोहीअनुसार आइतबार कारोबार खुलेको जिकिर गरेका छन् ।

उनले बजार बन्द हुनुपर्ने माग गर्दै आफूलाई भेट्न आएका लगानीकर्ताका नेताहरुलाई धितोपत्र बोर्डले बजार खोल्ने वा बन्द गर्ने विषयमा कुनै निर्देशन नदिएको समेत भन्दै त्यसलाई समेत कारोबार खुल्नुको अर्को कारण भनेका छन् । 

तर, धितोपत्र बोर्डको धारणा भने फरक छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिजशालासँग कुरा गर्दै प्रधानमन्त्रीको सम्बोधनबाटै सबै कुरा प्रष्ट भइसकेकोले बजार बन्द गर्नका लागि थप निर्देशन दिइरहनुपर्ने कुनै आवश्यकता नदेखिएको बताएका छन् । 'प्रधानमन्त्रीको सम्बोधनमै सबै कुरा छ, यसमा थप केही भनिरहनुपर्छ जस्तो लाग्दैन ।'-उनले बिजशालासँग भने । 

प्रधानमन्त्रीको सम्बोधमा आइतबार(आज)देखि १३ दिनसम्म अत्यावश्यक बाहेकका क्षेत्र लकडाउन हुने भनिएको छ । सेयर बजार अत्यावश्यक क्षेत्रमा पर्दैन । यसैकारण समेत सेयर बजार स्वतः बन्द हुनुपर्ने आशय बोर्ड अध्यक्ष ढुंगानाको देखिएको छ । 

तर, नेप्से नेतृत्वले भने प्रधानमन्त्रीको सम्बोधनको समेत अपव्याख्या गरेको छ । उसले विद्युतीय कारोबारलाई अत्यावश्य सेवा भनेकोले अनलाइन सेयर कारोबार चाहि रोक्न नमिल्ने जिकिर गरिरहेको छ । नेपालमा अधिकांश लगानीकर्ताले अनलाइन कारोबार लिएका छैनन् । २० लाखले डिम्याट खाता खोलेकोमा २० हजारले मात्र अनलाइन कारोबारको यूजर नेम र पासवर्ड लिएका छन् । नेप्सेकै तथ्यांकमा समेत बजार बढेको बेला अनलाइनबाट सेयर कारोबार गर्नेहरु कुल कारोबारीमा ३०–३५ प्रतिशत हाराहारी मात्र थिए । यसरी निश्चित संख्याका लगानीकर्ताको हित हुने गरी नेप्सेले कारोबार खुलाउनेमा किन जोड गर्यो भन्ने विषय समेत रहस्यमय बन्न पुगेको छ ।