काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचकमा ३.७४ अंकको गिरावट आए पनि कारोबार रकम भने बढेर ५५ करोड माथि पुगेको छ । 

नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने ५५ करोड माथि हुनुलाई सुखद नै मान्नुपर्छ । 

बजार बढेको बेला प्रोफिट बुक गर्ने सर्टटर्म कारोबारीको हतारोले समेत बजारलाई बढ्न नदिएको देखिएको छ । तर, बजारमा अझै पनि राम्रा कम्पनीको सेयर सस्तोमा किन्ने अवसर रहेको र ठूला लगानीकर्ता समेत बजारमा प्रवेश गरेका कारण आगामी दिनमा बजार अझै माथि जानसक्ने देखिन्छ । कारोबार रकमले समेत बजारमा ठूला लगानीकर्ताहरुको प्रवेश बढ्न थालेको देखाइसकेको छ । 

यसर्थ लगानीकर्ताले कम्पनीको राम्रोसँग विश्लेषण गरी लगानी गर्न सके यो अवसर निकै महत्वपूर्ण साबित हुनसक्छ । 

यो दिन बजार होटल, विकास बैंक र अन्य समूहको सूचकमा झिनो बढोत्तरी भयो । होटल समूह २०.५७ अंकले बढ्यो भने विकास बैंक समूह ४.६९ र अन्य समूह १.८३ अंकले बढे।

बाँकी सबै समूहको सूचकमा रातो पोतियो । बैंकिङ समूह १.६५ अंकले घट्यो भने जलविद्युत समूहमा ७.७९, बित्त समूहमा ०.४८, निर्जीवन बिमा समूह १०७.४८, उत्पादनमूलक ५.५१ अंक, माइक्रोफाइनान्स समूह ५.०६ र जीवन बिमा समूहमा ७९.८१ अंकको गिरावट आयो । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएको छ । यही कारण सेन्सेटिभ इण्डेक्स ०.५१ अंकको गिरावट आयो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२४ अंकको गिरावट देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका २० लाख १५ हजार ८ सय २९ कित्ता सेयर ५५ करोड ५० लाख ६१ हजार ५ सय २ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सानिमा माई हाइड्रोपावरले सबैभन्दा बढी ७ करोड ४६ लाख बढीको कारोबार गरेको छ । यस्तै, एनआइसी एशिया बैंकले ४ करोड ४० लाख, एनएमबी बैंकले ३ करोड ८२ लाख, प्रभू बैंकले १ करोड ८६ लाख, नेपाल बैंकले १ करोड ६२ लाख, देवः विकास बैंकले १ करोड ४१ लाख, स्वरोजगार लघुवित्तले १ करोड १४ लाख बढीको कारोबार गरे । एशियन लाइफ इन्स्योरेन्सको १ करोड १४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल इन्स्योरेन्सले १ करोड १४ लाख तथा नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड १३ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्लोबल आइएमई समुन्नत स्किम १ का इकाईधनीले सबैभन्दा धेरै कमाए । यो स्किमको मूल्य १० प्रतिशतले बढ्यो । 

यस्तै, सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।