काठमाण्डौ । लगानीकर्ताको आग्रहलाई ब्रोकर एशोसिएसनले ठाडै अस्वीकार गरेसँगै ‘पर्ख र हेर’को रणनीतिमा  रहेका लगानीकर्ता समेत कारोबारमा फर्किएका छन् । 

लगानीकर्ता कारोबारमा फर्किएर सेयर खरिदारी बढाउँदा बजारमा उछालको अवस्था देखिएको छ । आइतबार समेत नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । 

सेयर लगानीकर्ता दवाब समूह अर्थमन्त्रीबाट गठित अध्ययन समितिप्रति रुष्ट भई त्यहाँबाट पूँजीबजारको विकासका लागि कुनै काम हुन नसक्ने निश्कर्षमा पुगे पनि बजारका अधिकांश लगानीकर्ता त्यो निश्कर्षप्रति असहमत देखिएका छन् । बजारमा देखिएको कारोबार तथा नेप्से परिसूचकतर्फको उछालले यही संकेत गर्दछ ।

अर्थमन्त्रीले पूँजीबजारको समस्या पहिचानका लागि अध्ययन समिति बनाई सो समितिले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुर्याएपछि यसबाट लगानीकर्तामा उत्साह देखिएको हो । अध्ययन समितिबाट सिफारिस भएका पूँजीबजारको विकास तथा बिस्तारका एजेण्डाहरु कार्यान्वयन हुने आशामा लगानीकर्ताको मनोबल उच्च बनेको देखिएको हो । 

अर्थमन्त्रीबाट गठित समितिले मुद्रा बजारको समस्या पहिचान गरी तीव्र ब्याजदर वृद्धि नियन्त्रणका लागि समेत आवश्यक सुझावहरु दिनेछ । यो सुझावपछि ब्याजदर नियन्त्रणमा आई यसले बजारलाई टेवा पुग्ने कतिपयको धारणा छ । 

‘अर्थमन्त्रीले बैंकहरुको ब्याजदर बढाबढको खेलमा बढी फोकस गरेर अध्ययन समिति बनाएका थिए ।’ समितिका एक सदस्यले भने–‘ यसमा पूँजीबजारको समस्या समेत समेटिन पाएको छ, यो ठूलो कुरा हो । अध्ययन समिति गठन गरेबाटै अर्थमन्त्रीजी पूँजीबजारको विकास र बिस्तारप्रति गम्भीर हुनुहुन्छ भन्ने प्रमाणित भइसकेको छ ।’ 

ती सदस्यको भनाईमा अध्ययन समितिले सिफारिस गरेका बिषयको ५० प्रतिशत मात्र सम्बोधन हुने हो भने पनि पूँजीबजार र मुद्रा बजारमा निकै ठूलो परिवर्तन हुनेछ । सरकार गम्भीर भएर काम गरिरहेको दाबी गर्दै ती सदस्यले यस्तो बेलामा लगानीकर्ताले समेत धैर्यता अपनाउनुपर्ने सुझाव दिएका छन् । 

रोकिएन कारोबार
आमरण अनसन थालेको लगानीकर्ताको दवाब समूहले आम लगानीकर्ता र ब्रोकरलाई समेत सोमबारको कारोबार रोकिदिन आग्रह गरेको थियो । बजारमा करिब आधाघण्टा अर्डर नआए पनि त्यसपछि भने लगानीकर्ताले खरीदबिक्रीको अर्डर ब्रोकरलाई दिएका थिए । ब्रोकरले समेत अर्डर अनुसार काम गरेका थिए । 

आफूहरुको चाहनाविपरीत कारोबार नरोकिएपछि आक्रोशित लगानीकर्ताले केहीबेर नेप्से परिसरमा नाराबाजी र प्रदर्शन समेत गरेका थिए । त्यसका बाबजुद ब्रोकर तथा लगानीकर्ताले कारोबार रोकेनन् र नेप्से परिसूचक निरन्तर उकालो लागिरहेको छ ।

हुन त कारोबार रोकिएकै अवस्थामा नेप्सेका प्रमुख चन्द्रसिंह साउदलाई भेट्न पुगेका स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटलाई आन्दोलनकारीको तर्फबाट दिपेन्द्र अग्रवालले कारोबार रोकेर आन्दोलनलाई सहयोग गरिदिन आग्रह गरेका थिए । तर, रानाभाटले ब्रोकरहरु त्यसै पनि घाटामा रहेका र बग्रेल्ती समस्या भएकोले कारोबार रोक्न नसकिने स्पष्ट जवाफ दिएका थिए । त्यसपछि बजारमा निकै तीव्र गतिमा कारोबार भइरहेको देखिएको छ । 

लगानीकर्तामा फूट
एकथरि लगानीकर्ता आमरण अनसन लगायतका आन्दोलनका कार्यक्रममा रहँदा अर्काथरि लगानीकर्ता भने माग पूरा गराउने यो शैलीको विपक्षमा छन् । यहीकारण विगत केही दिनदेखि दवाब समूह र लगानीकर्ताका पुराना संगठनबीच आरोपप्रत्यारोपको खेल चलिरहेको छ । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेललाई सरकारले लगानीकर्ताको प्रतिनिधिको रुपमा उच्चस्तरीय अध्ययन समितिमा राखेपछि दवाब समूह तथा लगानीकर्ताका अन्य संगठन रुष्ट बनेका थिए । दवाब समूहले त विज्ञप्ति नै जारी गरेर पौडेललाई ‘बिचौलिया’को संगीन आरोप समेत लगायो । पौडेलपछि पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल समेत सो समितिमा सदस्यको रुपमा प्रवेश गरिन् । उनलाई समेत दवाब समूहले बिचौलियाको आरोप लगाउन छाडेन । 

आफूमाथि बिचौलियाको संगीन आरोप लागे पनि पौडेलले भने दवाब समूहलाई वार्तामा ल्याउन निरन्तर पहल गरेका थिए । उनले गत बुधबार नै अनसनस्थलमै आएर लगानीकर्तालाई अध्ययन समितिको तर्फबाट वार्तामा आउन आह्वान गर्ने योजना बनाएका थिए । तर, उनीमाथि दुव्र्यवहार हुने सूइँको पाएपछि उनी नेप्सेस्थित अनसनस्थल पुग्न सकेनन् । 

त्यसपछि अध्ययन समितिको काम अन्तिम चरणमा पुगेपछि उनको आग्रहमा अर्थमन्त्रालयले दवाब समूहले वार्तामा बोलाएको थियो । दवाब समूहको ५ सदस्यीय प्रतिनिधि मण्डल शुक्रबार आफैंबाट बिचौलिय आरोप पौडेल र पोखरेलसँगै अर्थमन्त्रालयमा वार्तामा समेत बसेको थियो । एकघण्टामै मुख्य माग छाडेर सहमति गर्न तयार भएको दवाब समूहका केही अधिकारी र राधा पोखरेलबीच वार्ता भइरहेकै ठाउँमा झण्डै हात हालाहालको अवस्था पनि सिर्जना भएको थियो । कारण थियो, लगानीकर्ताको हित नचिताएको भन्ने एकअर्कामाथिको आरोप । दीपेन्द्र अग्रवाल र राधा पोखरेलबीच वार्तास्थलमै भएको तनावपूर्ण अवस्था त्यहाँ उपस्थित अन्यको समन्वयले मत्थर बनेको थियो ।

अगुवा भनिएका लगानीकर्ताहरुको एकअर्काप्रतिको संशय अझै बिस्तार भई शनिवारको विज्ञप्तिमा छल्कियो, जहाँ दवाब समूहले अम्बिका पौडेल र राधा पोखरेलले समेत लगानीकर्तालाई धोका दिएको भन्दै विज्ञप्ति निकाल्यो । त्यसपछि दवाब समूहप्रति पौडेल र पोखरेल नेतृत्वका लगानीकर्ता थप रुष्ट भए । 

आइतबार पोखरेलले विज्ञप्ति नै निकालेर दवाब समूहको कार्यशैलीको कडा प्रतिवादको कोशिश गरिन् । 

यो तिक्तता र हिलो छ्यापाछ्यापको त्यही खेलका कारण सोमबार दवाब समूहको आह्वानको अवज्ञा भयो । दवाब समूहलाई पूँजी बजार संघ र सेयर लगानीकर्ता संघको समर्थन छ । तर, दवाब समूहको कार्यशैली गलत भएको भन्दै इन्भेष्टर्स फोरम र पूँजीबजार लगानीकर्ता संघसँग आबद्ध लगानीकर्ता नियमित कारोबारमै छन् । 

यसरी लगानीकर्ताहरुबीचकै फूटका कारण राम्रा मागसहित सुरु भएको आन्दोलनमा लगानीकर्ताहरुबाटै असहयोगको अवस्था सिर्जना भएको देखिन्छ । मुख्य समस्या एकअर्काको नेतृत्व नस्वीकार्ने अवस्था समेत देखिएको छ । यो घातक प्रवृति यथावत रहे र लगानीकर्ताबीच एकता कायम नभए लगानीकर्ताहरुले राखेको माग पूरा हुन हम्मे हम्मे पर्नेछ भने फूटेर अगाडि बढ्न खोजिए दवाब समूहमा मात्र होइन, भोलिका दिनमा अन्य लगानीकर्ताका संगठबाट हुने जायज आन्दोलन समेत तुहिन बेर छैन । 

यस्तो अवस्थामा सबै पक्षले सहकार्यको बाटो पक्रिनुको विकल्प देखिन्न । आपसमा भएका तिक्तताको बिषयमा मन माझामाझ गरी कसैलाई भिलेन र कसैलाई हिरोको रुपमा प्रस्तुत नगरी लगानीकर्ताको साझा मागमा साझा धारणा बन्न नसकेको खण्डमा अवस्था बजार र लगानीकर्ताको पक्षमा नहुनसक्छ ।