-भक्तराज रसाइली
काठमाण्डौ । धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणालीको समयावधि घट्ने भएको छ । 

यसका लागि सम्बद्ध पक्षहरुको सहभागितामा एक कमिटी गठन गरिएको छ । सो कमिटिले  ३ साताभित्र अध्ययन गरेर कारोबार राफसाफ तथा फछ्र्यौट प्रणालीको समयावधिको विषयमा आफ्नो प्रतिवेदन धितोपत्र बोर्डसमक्ष पेश गर्नेछ ।

सिडिएस एण्ड क्लियरिङ लिमीटेडको सञ्चालक समितिले सेयर कारोबार राफसाफ तथा फछ्र्यौटका लागि हाल टिप्लस थ्री समयलाई छोट्याएर टी प्लस वान बनाउन चाहेको छ । यही विषयमा उपयुक्त सुझाव दिन कमिटी गठन गरिएको हो ।

नेप्सेकी उपप्रबन्धक र सिडिएसीकी सञ्चालक समेत रहेकी प्रवीण पन्धाक लिम्बूको संयोजकत्वमा गठित कमिटीमा नेप्सेका आइटी प्रमुख निराञ्जनसिंह नायक, सिडिएसका योगराज जोशी र विज्ञका तर्फबाट ब्रोकर नम्बर ३६का धितोपत्र व्यवसायी सन्तोष मैनाली सदस्य छन् । सदस्य सचिवको जिम्मेवारी योगराज जोशीले सम्हाल्नेछन् ।

कमिटीका सदस्य सचिव जोशीले हालसम्म टिप्लस वान प्रणाली लागू गर्न सम्भव नभएकोमा कमिटीका अधिकांश सहमत छन् । त्यसकारण यो कमिटीबाट कारोबार राफसाफ तथा फछ्र्यौटका लागि टिप्लस टूसम्मको प्रणाली लागू गर्नुपर्ने सुझाव जानसक्ने उनको संकेत छ । 

धितोपत्र बजारमा कारोबार भइसकेपश्चात् राफसाफमा हाल टी प्लस थ्री कार्यान्वयनमा छ ।  अहिलेको व्यवस्था अनुसार पनि तोकिएको समयमा राफसाफ गर्न समेत हम्मे हम्मे परिरहेको बेला त्यसलाई छोट्याएर टी प्लस वानमा जाँदा एक कार्यदिनभित्रै राफसाफ गर्न असंभव रहेको सिडिएससी स्रोत बताउँछ । 'राफसाफ अवधि समेत छोट्याउनुपर्ने बाध्यतालाई आत्मासाथ गरी हामीले बीचको विकल्पमा जाने संभावना रहन्छ ।' स्रोतले भन्यो-'त्यो भनेको टी प्लस टु हो । अहिले राफसाफ म्यानुअल हुने भएकाले र अन्तर्राष्ट्रिय अभ्यासमा समेत एकदिनमा राफसाफ असंभव देखिन्छ ।' 

स्मरण रहोस्, धितोपत्र बजारमा कारोबार सम्पन्न भए पश्चात् खरिदकर्ताले बुझाउनुपर्ने रकम तथा बिक्रीकर्ताले बुझाउनुपर्ने धितोपत्रको निक्र्यौल गर्ने कार्य नै राफसाफ हो । 

नेप्सेमा कारोबार भइसकेको धितोपत्रहरु भुक्तानी फछ्र्यौट गर्नुपर्ने समय टिप्लस ३ भनिन्छ । हाल धितोपत्र कारोबार भएको तीन कार्यदिनभित्र कारोबार भएको धितोपत्र तथा रकमको राफसाफ तथा फछ्र्यौट हुनपर्ने व्यवस्था रहेको छ । टिप्लस ३मा राफसाफ तथा फछ्र्यौट हुनपर्ने व्यवस्था रहेको छ । 

टिप्लस ३ मा राफसाफ तथा फछ्र्यौट प्रक्रिया सम्पन्न गर्न टि प्लस २ अर्थात् कारोबार गरेको पर्सिपल्ट सम्ममा खरिदकर्ताले खरिद गरिएको धितोपत्र बापतको रकम बुझाउनपर्नेछ । त्यसपश्चात् टिप्लस ३मा बिक्रीकर्ताले रकम प्राप्त गर्नेछ र खरिदकर्ताले धितापत्र प्राप्त गर्नेछ ।