काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित एअर कार्गो बिल्डीङबाट आयातनिर्यात गरिने माल सामानहरुको कार्गो प्रबन्धशुल्क बृद्धि गरिएकोमा नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमीटेडबाट चैत्र १ गतेदेखि लागू हुने गरी कार्गो प्रबन्ध शुल्क वृद्धि गरिएको बिषयमा जारी सूचनाप्रति आफूहरुको ध्यानाकर्षण भएको चेम्बरले एक विज्ञप्तिमार्फत जनाएको छ । 

चेम्बरबाट विगतमा सरोकारवाला सबै निकायहरुको छलफल गरी निजी क्षेत्रको सुझाव तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष र यस सम्बन्धमा गठित कार्गो प्रवन्ध सेवा दस्तुर सम्वन्धी उपसमितिका संयोजकलाई समेत सुुझावहरु बुुझाइएकोमा त्यसको बेवास्ता गरी कार्गो प्रबन्ध शुल्क बढाइएको दाबी गरिएको छ । 

नेपालको निजी क्षेत्रको कुनै पनि प्रतिनिधिमूलक संस्थासंग परामर्श तथा समन्वय नगरी एकतर्फी ढंगले शुल्क वृद्धि गरिएको र निर्यात व्यापार घटिरहेको अवस्थामा निकासी हुने वस्तुमा लागत वृद्धि हुन गइ अन्तर्राष्ट्रिय बजारमा नेपाली मालवस्तुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास हुने भई व्यापार घाटा अझै बढ्न जाने चेम्बरले दाबी गरेको छ ।

कार्गो प्रबन्ध शुल्क वृद्धिले नेपालको उद्योग तथा व्यापार क्षेत्रमा समेत दुरगामी नकारात्मक प्रभाव पर्ने र आम उपभोक्तालाई पनि गम्भिर असर पर्ने चेम्बरले ठहर गरेको छ । 

‘शुल्क वृद्धिले चेम्बरलगायत सरोकारवाला निजी क्षेत्रको सुझावहरु पनि सम्वोधन हुन नसकेकाले नेपाल चेम्बर अफ कमर्स गम्भीर आपत्ति प्रकट गर्दै उक्त शुल्क वृद्धि अबिलम्व फिर्ता लिन वा निजी क्षेत्रको सुझाव प्रतिवेदनलाइ समेटी समयसापेक्ष सुधार गर्न सरोकारवाला सबै निकायहरुलाइ आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।