काठमाण्डौ । स्वास्थ्यको कारण देखाउँदै ग्लोबल आइएमई बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएका छन् । 

उनले असार १ गते नै राजीनामा दिएका हुन् । उनले दिएको राजीनामा बैंक संचालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत समेत गरिसकेको छ । 

क्षेत्रीको सीइओको रुपमा कार्यकाल अझै १ वर्ष बाँकी थियो । 

जनता बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका उनले बैंकलाई ग्लोबल आइएमईमा सफल मर्जर गराएका थिए । मर्जरमा सीइओको रुपमा जनता बैंकबाट पर्शुराम कुँवरलाई लिने सहमति अनुसार एकीकृत संस्थाको समेत उनी सीइओ नै भएका थिए। 

तर, उनी सीइओको रुपमा एकीकृत भई बलियो बनेको बैंकमा जाँदादेखि नै भावी सीइओको रुपमा महेश शर्मा ढकाललाई हेरिएको थियो । उनी हाल बैंकको वरिष्ठ डेपुटी सीइओ छन् । 

पर्शुराम कुँवरले राजीनामा दिएपछि उनले सो विषय खुलाउँदै फेसबुकको एक लामो स्टाटस समेत पोस्ट गरेका छन् । 

उनले आफूले ग्लोबल आइएमई बैंकमा सीइओको रुपमै २०७८ जेठ मसान्तसम्मै काम गर्न चाहे पनि आफ्नो इच्छा पूरा नभएको गुनासो गरेका छन् । यसबाट समेत बैंकमा कुनै खटपट भएर उनले राजीनामा गरेका बुझ्न गाह्रो छैन । 

उनले भनेका छन्-'म मेरो रोज़गार सम्झौताअनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्तसम्म नै काम गरेर बैंकिंग क्षेत्र मात्र होईन सम्पूर्ण क्षेत्रबाट पूर्णकालीन कामबाट अवकाश लिन चाहन्थेँ, तर मानिसहरुका सबै इच्छा र आकांक्षा पूरा हुँदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होईन । जिन्दगीभर मेहेनत गर्ने र मेहेनतको फलबापत जे पाएँ, त्यसैमा चित्त बुझाएँ । तर मेरो यो आकांक्षा पूरा नभएकोमा मलाई जिन्दगीभर अलिकति पीडा हुनेछ ।' 

उनले फेसबुकमा पोस्ट गरेका बाँकी स्टाटस यस्तो छ:

  • जिन्दगीभर मैले निरन्तर रुपमा “९९६” को मोडेलमा काम गरें अर्थात विहान ९ बजे देखि बेलुका ९ बजेसम्म हप्ताको ६ दिन काम गरें । ज़िन्दगीका थुप्रै दिन दिनको १४-१५ घण्टा र शनिवारका दिन काम गरेको छु । पढाइमा त अब्बल नै थिएँ, तर सरकारी स्कुल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिएँ र सहायक तहबाट बैंकिगं क्षेत्रमा प्रवेश गरेको थिएँ ।  म आज जहाँ छु र ज़िन्दगीमा मैले जे हासिल गरेँ त्यो सबै मेरो मेहनतकै फल हो ।
  • तर अब मेरो स्वास्थ्य र उमेरले त्यसरी नै “९९६”को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएको जस्तो महशुस भयो । २१ लाख भन्दा बढी ग्राहकहरु, ३१०० भन्दा बढी कर्मचारी र लाखौं शेयरधनीहरु भएको ग्लोवल आईएमई बैंक जस्तो बैंकमा जागिर खाने नाममा कुर्चिमा टासिएर बस्न मन लागेन । आशातित गति, अपेक्षा र भावना अनुरुप कार्यसम्पादन गर्न निरन्तर “९९६” को मोडेलमा काम गर्न ज़रूरी छ, तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सिइओ जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिँन् । यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र बसेको भए, बैंकका सबै सरोकारवालाहरु (ग्राहकहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियमनकर्ता र सरकार र समुदाय)प्रति मैले अन्याय गरेको हुने थिएँ, यो मेरा लागि स्वीकारयोग्य थिएन ।
  • वि.सं. २०७४ असार १ गते तत्कालीन जनता बैंकमा सीइओको रुपमा कार्यभार सम्हाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो, तर मैले त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंक मर्ज़ गरेर एकैपटक ठूलो भएको जनता बैंकलाई “अटोपाईलट” मा लग्न २ वर्ष लाग्छ र सो समयपछि मलाई विदा दिनु पर्छ भनेर तत्कालिन संचालक समितिलाई भन्थेँ र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्षपछि बैंक तपाईहरुले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र बस्ने हो भन्थेँ । त्यो हिसाबले म १३ महिना बढी बैंकमा काम गरेको छु । अझ त्रिवेणी विकास बैंक र सिध्दार्थ विकास बैंकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रुपमा काम गरेको अवधि समेत गणना गर्ने हो भने बैंकसंग साढे ३ वर्ष सम्बद्ध हुन पुगेको छु।
  • ग्लोबल आईएमई बैंकले राम्रो गरेको छ, राम्रो गर्दैछ र अझ राम्रो गर्ने संभावनाहरु विद्यमान छन् । देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने बैंकको क्षमता छ । बैंकको पूर्वाधार सवल छ, बैंकको व्यवसाय राम्रो छ, बैंकको छवि राम्रो छ र बैंकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार, लगनशील, र परिणाममुखी छन्। म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई मिस गर्नेछु । यस्तो गुणहरु भएको बंैकले भविष्यमा अझ राम्रो गर्दै जाने छ भनी सम्पूर्ण सरोकारवालाहरुमा आश्वस्त पार्न चाहान्छु । र म यस घडीमा बैंकका सबै सरोकारवालाहरुमा आ आफनो ठाउँबाट भविष्यमा पनि बैंकलाई थप साथ र सहयोग गर्न हार्दिक आव्हान गर्दछु ।
  • विगत करिब साढ़े ३ दशक बैंकिंग क्षेत्र र त्यसभन्दा अघि करिब साढ़े २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु। आफूले काम गरेका बैंकका कर्मचारीहरुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुका साथीहरु, नेपाल राष्ट्र बैंक र अन्य नियमन संस्थाहरुका सरहरु, म्याडमहरुसंग र मेरा ग्राहकहरुसंग थुप्रै अन्तरकृयाहरु र बैठकहरु गरेको छु। यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विधार्थीहरुलाई चोट पुर्याएको छु । यसका लागि म यहाँहरुसँग माफ़ी माग्न चाहान्छु । मैले जानी जानी यहाँहरुको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलिएर व्यावसायिक रुपमा लियर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु।
  • यो अवकाशसँगै म अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक डेली रुटिन प्रकृतिको पूर्णकालिक काम गर्ने संभावना न्यून छ। मेरो बाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र बैंकिंग क्षेत्रका कर्मचारीलाई तालीम प्रदान गर्नमा बिताउनेछु । तालिम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौखको चीज रहँदै आएको छ। मैले बैंकिंग क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म बाँड्न चाहान्छु। मैले सधै भन्दै आएको छु र आज म यहाँ फेरी दोहोर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउँदा पढाउँदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पूरा गर्ने छन् ।
  • मेरो साढ़े ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापूर्वक संस्थागत सुशासन क़ायम गर्दै काम गरेको छु । मैले सधै गुड स्लिप रोजेँ, गुड फूड कहिल्यै रोजिँन। यसले मलाई फियरलेस बनायो । कतिपय अवस्थामा यो मेरो सवलता पनि बन्यो र दुर्वलता पनि ।  यसैकारण कसैले मेरो नैतिकता र ईमान्दारीतामा औंला ठड्याउन सकेनन् । जिन्दगीमा मैले कमाएको सबैभन्दा ठूलो पूँजी हो यो । मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसावले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा(मावली) र मेरो बैंकिंगको महाविद्यालय ग्रिन्ड्लेज, स्टैण्डर्ड चार्टड बैंकलाई श्रेय जान्छ । म उहाँहरुलाई सधैं सम्झनेछु । 
  • बैंकमा काम गरिरहेको अवस्था र बैंकिंग क्षेत्रभन्दा बाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो । वित्तीय सुधार कार्यक्रम अन्तर्गत साढे ३ वर्ष नेपाल बैंकमा काम गर्दा (जुलाई २००३-डिसेम्वर २००६) देखि नै मेरो उहाँहरुसँग संगत रह्यो। उहाँहरुको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहान्छु । कार्यव्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाडो ठाडो रुपमा प्रस्तुत भएको हुंला, यसको लागि म उहाँहरुसँग क्षमायाचना गर्छु । 
  • अन्तमा, बैंकिंग क्षेत्रमा जे जति गर्न सकें यसको पछाडि मेरो परिवारको ठूलो हात छ । यसका लागि परिवारका सबै सदस्यहरुलाई धन्यवाद दिन्छु । पूर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्थ्यो त्यति दिन सकिँन, यसका लागि म दुःखी र क्षमाप्रार्थी छु ।