काठमाण्डौ । पूर्व योजनाअनुसार चन्द्रागिरी हिल्सले प्रिमियम मूल्यमा सर्वसाधारण र आयोजना प्रभावितका लागि १५ लाख कित्ता आइपीओ निश्कासन गर्ने भएको छ । 

चन्द्रागिरी केवकार संचालन गरिरहेको यो कम्पनीले आइपीओ निश्कासन लगायतका प्रस्तावसहित आगामी पुस ३० गते आफ्नो ९ औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा जारी पूँजी बढाएर १ अर्ब ५० करोड पुर्याउने र जारी पूँजीको १० प्रतिशतले कायम हुन आउने १५ लाख कित्ता साधारण सेयर सर्वसाधारण र आयोजना प्रभावितका लागि निश्कासन गरिने प्रस्ताव पेश हुने बताइएको छ । 

साधारणसभाको सूचनामा प्रिमियम मूल्यमा आइपीओ निश्कासनको कुरा उल्लेख छैन । तर, कम्पनीस्थित स्रोतले भने प्रिमियम मूल्यमा मात्रै यसको आइपीओ निश्कासन गर्ने योजना बनाइएको बताएको छ । 

चन्द्रागिरीको सन्निकट आइपीओको राम्रो मूल्य कायम गराउनैका लागि केही समयअघि अर्थमन्त्रीबाट गठित कार्यदलसम्म चलखेल भएको थियो । 

चलखेलकै परिणाम कार्यदलको प्रतिवेदनमा भनिएको छःएफपीओ जारी गर्दा नेटवर्थ भन्दा बढी नहुने गरी र प्रिमियम मूल्यमा आइपीओ जारी गर्दा संगठित संस्थाको नेटवर्थको बढीमा दुईगुणासम्म मात्र हुने व्यवस्था गर्ने । 

प्रतिवेदनमा यो व्यवस्था चन्द्रागिरी लगायतका केही रियल सेक्टरका कम्पनीहरुलाई टार्गेट गरेर गरिएको स्रोतहरुले त्यसबेलै दाबी गरेका थिए र चलखेल भएको एउटा बुँदा यो समेत रहेको थियो । कार्यदलका केही अधिकारीलाई यो बुँदा कायम गराउनका लागि केही कर्पोरेट हाउसले प्रभावमा पारेका विषय त्यसबेलै सार्वजनिक भएको थियो । 

चन्द्रागिरी हिल्सले यसअघि नै आइपीओ निश्कासनको योजना बनाएको थियो । तर, धितोपत्र तथा सार्वजनिक शेयर निष्काशन सम्बन्धी नियममा कम्तीमा पनि दुई आर्थिक वर्षको लेखापरीक्षण गर्नुपर्ने नियमले केही पछाडि धकेलिएको थियो ।