काठमाण्डौ । उद्योगी व्यवसायीले २०३२ सालमा बनेको कालोबजारी ऐन संशोधनको माग राखेका छन् । 

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा आइतबार गएको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटी ऐन संशोधनको माग राखेको हो । 

पुरानो ऐनले विद्यमान बजारको समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै प्रतिनिधिमण्डलले ऐनलाई समयसापेक्ष रुपमा शंशोधन गर्नुपर्ने खाँंचो औंल्याए । 

सिंहदरवारमा भएको भेटमा चेम्वरका अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यपारीहरुलाई दुःख दिने काम भएको बताए । अर्थ, वाणिज्य, आपूर्ति मन्त्रालयलगायत प्रहरी प्रशासनबाट बजार अनुगमन हुने गरेकाले संशोधित ऐनमा बजार अनुगमनका क्षेत्राधिकार स्पष्ट गर्नुपर्ने उनले बताए । 

अध्यक्ष श्रेष्ठले पूर्व घोषित बाहेकका अपर्झट सार्वजनिक विदा दिंदा राष्ट्र बैंक अन्तर्गतका बैंक तथा वितीय क्षेत्रहरुका सेवालाई सुचारु गर्ने बन्दोवस्त मिलाउन ध्यानाकर्षण गराए । 

भेटमा मुख्य सचिव रेग्मीले निजी क्षेत्रलाई विपक्षीको रुपमा लिएर सरकारको तर्फबाट दमनको काम आफ्नो कार्यकालमा कहिल्यै नहुने वचन दिए । सरकार र निजी क्षेत्रबीचको संयुक्त सहकार्यबाट मात्रै मुलुक समृद्ध हुने भएकाले दुवै पक्ष मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए ।