काठमाण्डौ । कुनै पनि कुराको प्रतिकात्मक चित्रण कलाले गर्नसक्छ । कालाकारको कलाले जोसुकैको मन बहलाउन सक्छ । काठमाडौको प्रज्ञा प्रतिष्ठानमा यस्तै दिल बहलाउने काष्ठ कला भेटिन्छन् । सन्दर्भ विश्व काष्ठ दिवसको हो । 
 

चैत्र ८ गते सोमबारदेखि काठमाण्डौको प्रज्ञा भवनमा वन जङगलमा पाइने विभिन्न प्रकारका रुखबाट बनाइएका मौलिक कला र संस्कृति झल्किने काठका कला कृति देख्न पाइन्छ । नेपालसहित झण्डै एकसय देशका कालीगढहरु प्रत्यक्ष रुपमा आ–आफ्नो देशको कला र संस्कृति झल्किने खालका सामाग्रीहरु निर्माण गरिरहेका भेटिन्छन् । 
 

कालीगढहरु कोही काठमा बुट्टा कुदिरहेका भेटिन्छन् भने कोही मूर्ति बनाइरहेको अवस्थामा देखिइन्छन् । काठका मूर्ति, कठपुतली, भूकम्पप्रतिरोधी मन्दिर, टुँडाल, बाजागाजा, ओखल, कुर्सी, भाँडाकुँडा लगायत दैनिक जीवनमा उपयोग हुने सामाग्री प्रदर्शनीमा राखिएका छन् । 

हरेक वर्ष मार्च २१ मा विश्व काठ दिवस मनाइन्छ । ‘प्रकृतिसँगै संस्कृति’ नारा बोकेको काष्ठ मेलाको मूल समारोह नेपालमा पहिलो पटक आयोजना भएको हो ।  यसअघि सन् २०१३ मा पहिलो पटक विश्व काष्ठ दिवस ताञ्जेनियामा मनाइएको थियो भने सन् २०१४ मा चीन र सन् २०१५ मा टर्किमा प्रदर्शनी गरिएको थियो । 

विश्वका विभिन्न देशका बिभिन्न उमेर, जाति, धर्म र भाषाका सयौं कालिगढहरुले उनीहरुको शीप र ज्ञान प्रयोग गरी बनाइएका कलात्मक सामाग्री प्रदर्शन गरिरहेका छन् । यसैगरी कालीगढहरुले काठलाई धेरै आकारहरु दिई मण्डप र शिवालयहरुको नमूना पनि निर्माण गरिरहेका छन् । एकअर्काको देशको परम्परागत काष्ठ कलाको बारेमा सिक्ने अवसर मात्र नभई विभिन्न सांस्कृतिक सन्दर्भहरुमा काष्ठको प्रयोगको बारेमा जान्ने अवसर पनि कालीगढहरुलाई प्राप्त हुने आयोजकको दाबी छ । चीन, भारत, अमेरिका, मलेसिया, इरान, जापान, भूटान, फिजी, मंगोलिया लगायत थुपै्र देशका काष्ठकलाहरु प्रदर्शनीमा राखिएको छ । नेपालका नेवार, थारु, राउटे जातिका काष्ठकला र हस्तकलाका सामाग्री पनि प्रदर्शनीको आकर्षण हो । काष्ठ कलाबारे जानकारीमूलक यस्ता कार्यक्रम नेपालमा हरेक वर्ष आयोजना गरिनुपर्ने अवलोकनकर्ताहरु बताउँछन् । 

शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, ईसिमोड, काठमाण्डौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल हस्तकला महासंघ, नेपाल जनजाति वनस्पति समाज लगायतका अन्य साझेदार संस्थाहरुले यस कार्यक्रममा सहकार्य गररिहेका छन् भने वनमन्त्रालय, अन्तर्राष्ट्रिय काष्ठ संस्कृति समाजको आयोजनामा अन्तर्राष्ट्रिय प्रकृति संघ(आईयुसिएन)ले कार्यक्रमको संयोजन गरेका छन् ।

प्रदर्शनी १२ गतेसम्म चल्नेछ । कार्यक्रम अवलोकनका लागि सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । 
 

सबै तस्विरहरु : सन्तोषी अधिकारी