काठमाण्डौ । बैंक तथा बित्तीय संस्था र सूचिकृत कम्पनीहरुले एकपछि अर्को गर्दै आकर्षक लाभांश घोषणा गरिरहेका छन् । राजनीतिक वातावरण समेत यो बेला सन्तोषजनक नै छ । बजारमा तरलता अधिक भएको भन्दै राष्टबैंकले १ अर्ब रुपैयाँ खिच्नलाई रिभर्स रिपो जारी गर्दैछ । बैकिंग सिस्टममा समेत लगानीयोग्य रकमको अभाव छैन ।

एकातिर बजारमा लाभांशको बहार आएको छ भने अर्कोतर्फ बैंक तथा बित्तीय संस्थाहरुले सेयर धितोकर्जा निकै सहज र सरल बनाइएको घोषणा गरिरहेका छन् । सेयरको अधिक आपूर्ति बाहेक सबै कारण तथा अवस्था सकारात्मक रहे पनि साताको ५ कारोबार दिन कुनै दिन बाहेक अधिकांश दिन घटिरहेको छ । कुनै दिन त दोहोरो अंकले घट्दो बजारमा कारोबार रकम समेत घट्न थालेपछि लगानीकर्ता अत्तालिएका छन् । आखिर किन घट्दैछ बजार ? सबै कुरा सकारात्मक हुँदा हुँदै के कारणले बजारमा कालो बादल मडारिरहेको छ ? केही विज्ञहरुसँग गरिएको कुराकानीका आधारमा बजार घट्ने केही कारण यहाँ बुँदागत रुपमा प्रस्तुुत गरिएको छ :

  1. शेयर लगानीलाई व्यापार बनाउने उद्देश्यविहीन प्रयास 
  2. नयाँ लगानीकर्ता पहिलोपटक बढी मूल्य भएको शेयरमा झुम्मिनु र अलिकति घटनासाथ आत्तिनु 
  3. केन्द्रीय बैंकको नीति अनुरुप पूँजी वृद्धि समयावधि समाप्त भएको र अधिकाँशले हकप्रद जारी गर्दैनन् भन्ने र मेरो कित्ता बढ्दैन भन्ने सोच्नु (हकप्रद जारी हुने क्रममा रहेकाहरुको भाउ करिब स्थिर देखिन्छ, जस्तो ओम, सांग्रिला, ग्रीन, अपि, एनसिसि आदि)
  4. पूँजी वृद्धिको अन्तिम सीमा यही हो, अबदेखि बोनस पनि जारी हुन्न, नगद मात्र लाभांश पाइन्छ, नगद के काम ? भन्ने गलत मनोविज्ञान 
  5. शेयर र शेयरबजारलाई दिगभ्रमित पार्ने समचारको सम्प्रेषण 
  6. क्रेडिट समस्यालाई तरलता समस्या भनिनु, जब कि यी दुई बीचमा आकाश जमिनको फरक छ भन्ने बुुझ्न नसक्नुु 
  7. बैंकहरुसँग दीर्घकालीन बचत योजना नहुनु 
  8. स्टक एक्सचेञ्ज र दलालप्रतिको नकारात्मक धारणा 
  9. ठूला चाडपर्वको प्रभाव
  10. वस्तुबजार जस्तो घट्ने र बढ्ने मात्र ठान्नु, जब कि यसमा वार्षिक लाभको अन्तनिर्हित पक्ष हुन्छ्र 
  11. लगानी र प्रतिफलको पक्ष अन्धकारमा पर्नु 
  12. बढी महत्वाकांक्षा पालेर क्षमता भन्दा बढी लाभांश खोज्नु 
  13. बुक क्लोज जस्ता शेयरबजार सम्बन्धी प्राविधिक शब्दावलीलाई नबुझी किन्नु (भोलिपल्ट मूल्य समायोजन हुँदा यसलाई नबुझ्दा भाउ घटेको भन्दै आत्तिनु र बेच्नु)
  14. ब्रोकरमार्फत मार्जिन लेण्डिङ कार्य सुरु नगर्नु
  15. बैंकलाई ब्रोकर लाइसेन्स दिने कार्य अगाडि नबढ्नुु
  16. अनलाइन कारोबार संचालन गर्ने कुराको सुनिश्चितता नहुनु
  17. गैरआवासीय नेपालीहरुलाई सेयरबजारमा सिधैं लगानी गर्नसक्ने व्यवस्था नहुनु
  18. नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारीको पद लामो समयसम्म पनि पूर्ति हुन नसक्नू
  19. नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग समन्वय र छलफल गरी बजार सुधारका कार्यक्रम संचालन गर्नुको साटो उल्टै लगानीकर्ताहरुलाई तर्साउने गरी कहिले स्थायी लेखानम्बरको बिषयमा र कहिले बोर्डसँग असम्बन्धित बिषयमा मिडियावाजी गरी अफवाह फैलाउनुु
  20. नेपाल राष्ट्रबैंकले सेयरधितो कर्जामा सीमा लगाउनुु
  21. बुक क्लोजपछि समायोजित मूल्यमा बोनस सेयरलाई धितोमा गणना गर्न नदिनूू
  22. नियामक निकायहरुले नियमित गर्ने भनिएका कुराहरु कार्यान्वयन नगर्नु
  23. नागरिक लगानीकोषलाई बजार निर्माताको रुपमा भूमिका निर्वाह गर्न नेपाल सरकारले गरेको आग्रह कार्यान्वयनमा नल्याइनुु
  24. सेयरधितो कर्जाको गणना १८० दिनको औसत दरको ७० प्रतिशत सीमालाई संकुचन गरिनु
  25. लगानीकर्तामा आपूर्ति बढी भयो भन्ने मनोभाव
  26. बैंकहरूको ८ अर्बपछि केही हुँदैन कि भन्ने नकारात्मक सोच
  27. पूँजी बढेसँगै प्रतिशेयर आयमा गिरावट, 
  28. संभवत केही म्युचुअल फण्डद्वारा नगद लाभांशका लागि शेयर बिक्री 
  29. केहीले सस्तोमा किन्न गरिरहेको प्रयास
  30. आउँदो दशैंको लागि विगत ८ महिनामा बढेको मूूल्यको मुनाफा बुकिङ ।
  31. गत वर्ष पनि यही समयमा घट्न थालेको थियो, त्यसैले केही सिजनल ईफेक्ट पनि