काठमाण्डौ । अघिल्लो सातादेखि उछाल आएको बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार समेत उस्तै प्रवृति देखियो । यो दिन त बजार परिसूचक(इण्डेक्स)सँगै कारोबार रकम(टर्नओभर)ले समेत बुर्कुसी मार्यो । यसरी बजार किन बुल भइरहेको होला ? के बजारमा बुल रन सुरु भएकै हो ?

विश्लेषक तथा अनुुभवी ब्रोकरहरुले बजार बुल रनतर्फ उन्मुख बन्दै गएको बताएका छन् । उनीहरुले इण्डेक्स र टर्नओभर एकअर्काको भरोसा बन्दै अगाडि बढेका कारण बजार अझ बढ्नसक्ने प्रक्षेपण समेत गरेका छन् । 

उनीहरुले लगानीकर्ताहरुको सेयर बजारका विभिन्न विकल्पहरुमा लगानीको अवसर खुम्चिँदै गएको, राजनीतिक अवस्थामा सुधार भई निर्वाचन हुने अवस्था रहेको र बजार बढ्न थालेपछि पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता समेत चलमलाएपछि बजारमा एकाएक बुलिस टेण्ड देखिएको बताएका छन् । 

‘बढ्दो इण्डेक्सलाई टर्नओभरको दरिलो साथ देखिएको छ । दुवै समानान्तर ढंगले उकालो लागिरहेका छन् ।’ स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले बिजशालासँग भने–‘यो आगामी बजारका लागि समेत राम्रो संकेत हो ।’ 

उनका अनुसार बजारमा समूहगत(सेक्टरवाइज) वृद्धिको ट्रेण्ड समेत देखिएको छ । केही समयअघि बिमा, त्यसको भोलिपल्ट माइक्रो फाइनान्सको सेयरमा उछाल आएको थियो । आइतबार भने जलविद्युत समूहले छलाङ मार्यो ।

पौड्यालको भनाईमा बजारमा वृद्धिसँगै लगानीकर्ताहरुलाई बैंकहरुबाट मार्जिन कल हुन छाडेको छ । यस्तै, क्रेडिट क्रञ्च तथा ब्याजदरमा खासै सुधार नभए पनि बजारमा आइपीओ, एफपीओ र हकप्रद तथा बोनसको बाढी आउने क्रम निकै हदसम्म रोकिएको छ । ‘यसकारण लगानीका अन्य विकल्प खुम्चिदै जाँदा लगानीकर्ताहरुले दोश्रो बजारमा लगानी बढाएका छन् ।’ उनले भने–‘बजार बढ्ने क्रम सुरु होला र लगानी गरौंला भनेर कुरेर बसेका लगानीकर्ताहरु समेत आक्रामक रुपमा सेयर खरीदमा लागेका छन्, यसले समेत बजारलाई बुल गराइररहेको छ ।’ 

उनकाअनुसार पछिल्लो समयको बढ्दो बजारलाई सुध्रदो राजनीतिक वातावरणले समेत साथ दिइरहेको छ । ‘अब स्थानीय निर्वाचन तोकिएकै मितिमा हुने लगभग निश्चित जस्तै भइसक्यो ।’ उनले भने–‘ निर्वाचन खर्च बजारमा आएपछि यसले लिक्वीडिटी क्रञ्चमा निकै ठूलो सुधार गरिदिन्छ, यसपछि त बजार अझ माथि पुुग्ने संभावना हुन्छ ।’

अर्का एक विश्लेषकका अनुसार बजार वृद्धि हुनुमा पछिल्लो समय धितोपत्र बोर्ड र नेप्सेले खेलेको भूमिकाले पनि केही न केही काम गरेको छ । धितोपत्र बोर्डले शुक्रबार मात्र विज्ञप्ति जारी गर्दै आस्वा प्रणालीलाई पूर्ण अनलाइनमा लैजाने र बजारको आमूल सुधारको आक्रामक योजना अगाडि बढाइएको जनाएको थियो । यो बीचमा नेपाल स्टक एक्सचेञ्जले तीनवटा ब्रोकर सदस्यहरुलाई काठमाण्डौ बाहिरका तीन ठाउँमा शाखा बिस्तारको स्वीकृति दिएको थियो । सेयर बजारमा विकेन्द्रीकरणको तीव्र तयारी, सेमी अनलाइन कारोबार प्रणाली स्थापनाको उस्तै गृहकार्य तथा बजारको आधुनिकीकरण तथा सुधारमा नियामकले खेलेका सकारात्मक भूमिकाको समेत बजारमा सकारात्मक प्रभाव परेको ती विश्लेषकको भनाई छ ।