काठमाण्डौ । अपेक्षा गरेजस्तो चुनावी वातावरण नबन्दा, बैंकको ब्याजदर बढेर निकै माथि पुगे पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ नियामक निकायहरुले ध्यान नदिंदा र यही बेला पूँजीवृद्धिको चाटारोले भएको सेयर समेत बिक्री गरेर लगानीकर्ताले हकप्रदमा ठूलो रकम लगानी गर्नुपर्दा दोश्रो बजारले गति लिन सकेको छैन । यिनै कारण केही दिनदेखि नेप्से परिसूचक १५ सयकै स्तरमा अड्किएको छ । लामो समयसम्म १६ सयको स्तरमा रहेको बजार यो सातादेखि १५ सयको स्तरमा ओर्लिएको हो ।

बुधबार पनि नेप्से परिसूचक स्थिर अवस्थामै रह्यो । परिसूचकमा ०.६६ अंकको झिनो गिरावट मात्र देखियो । बुधबार नेप्से परिसूचक १५८४.४९ अंकमा अडिएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार सूचक सेन्सेटिभ इण्डेक्स ०.०६ अंकले घटेको छ, तर समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.०६ अंकको वृद्धि देखियो ।

समूहहरुमा मिश्रित नतिजा देखियो । वाणिज्य बैंक समूह १.१७ अंकले बढ्यो भने जलविद्युत र बिमा समूहमा क्रमशः ८.०३ र १९.१७ अंकको बढोत्तरी भयो । होटल समूह २९.०७ अंकले घट्यो भने उत्पादनमूलक, विकास बैंक, बित्त र अन्य समूहमा क्रमशः ३४.३४, ३.०६, २.४४ र ५.७९ अंकको गिरावट देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ४८ कम्पनीका ९ लाख ४८ हजार ८ सय ४ कित्ता सेयर ५८ करोड ८१ लख ९ हजार ६ सय ६ रुपैयाँमा किनबेच भयो । एभरेष्ट बैंकले सबैभन्दा धेरै ५ करोड २३ लाख बढीको कारोबार गर्यो । यस्तै, एभरेष्ट इन्स्योरेन्सले ४ करोड ३६ लाख बढीको कारोबार गर्यो भने नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडले ४ करोड ११ लाख बढीको कारोबार गर्यो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ६६ लाख, हिमालयन जनरल इन्स्योरेन्सले २ करोड ७० लाख बढीको कारोबार गर्दा प्रभू बैंकको २ करोड ४२ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक र ४ स्थान बिमा कम्पनीले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी वल्र्ड मर्चेन्ट एण्ड बैकिङले कमायो । यो कम्पनीको सेयर मूल्य ७.३६ प्रतिशतले वृद्धि भयो । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्सको मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो ।

कन्काई विकास बैंकले सबैभन्दा धेरै ५.४५ प्रतिशतले सम्पत्ति गुमायो भने आरएसडिसी लघुवित्तको मूल्यमा ३.५६ प्रतिशतको गिरावट आयो ।