काठमाण्डौ । चुनावी चटारोमा व्यस्त भएको बेला समेत बजारमा खरिदको चाप ह्वात्तै बढेपछि निर्वाचनपछिको अवस्थाको बिषयमा लगानीकर्ता उत्साहित भएका देखिएको छ । दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदानको अघिल्लो दिन बुधबार बजारमा दोहोरो अंकको सुधार देखिएको छ भने सूचकसँगै कारोबार रकममा पनि समानान्तर वृद्धि भएको छ ।

सूचकमा दोहोरो अंकको वृद्धि देखिनुु र कारोबार रकममा पनि उत्साहजनक बढोत्तरी हुनुले लगानीकर्तामा निर्वाचनपछि बजारले उकालो यात्रा तय गर्नेमा विश्वास थप बलियो बन्दै गएको देखिएको छ । 

कतिपय विश्लेषकहरुले निर्वाचनपछि स्थिर सरकार बन्ने र त्यसपछि मुलुक आर्थिक विकास र समृद्धितर्फ केन्द्रीत हुने भएकोले बजारमा चमात्कारिक सुधार हुने भन्दै आफ्नो मत जाहेर गरिरहेको अवस्थामा लगानीकर्तामा समेत उस्तै उत्साह देखिएको प्रमाण समेत हो बुधबारको बजारको बलियो प्रदर्शन । निर्वाचनको क्रममा कुनै गठबन्धनको स्पष्ट बहुमत आएको खण्डमा त्यसबेलादेखि नै बजारले उकालो यात्रा तय गर्ने विश्लेषकहरुले बताएका छन् । उनीहरुले निर्वाचनको चटारोको बेला समेत बलियो बनेको बजार निर्वाचनपछि अझ बढ्ने समेत दाबी गरेका छन् । 

के-के भयो बुधबार ?
बुधबार बजार परिसूचक(नेप्से)मा ११.६७ अंकको सुधार भई १५३६.५४ अंकको उचाईमा पुुगेको छ । यो दिन व्यापारिक समूह बाहेकका अन्य सबै समूहको सूचकमा उत्साह देखिएको छ । व्यापारिक समूह २.४५ अंकले घटेको छ भने बैकिंग समूह ८.३ अंकले बढेको छ । यस्तै, होटल समूह २८.०९, विकास बैंक समूह २३.९५, जलविद्युत समूह ३२.१, बित्त समूह ७.७२, बिमा समूह ६८.६३, माइक्रोफाइनान्स समूह २४.५८ र अन्य समूह १.७३ अंकले बढेका छन् । 

लगानीकर्ताहरुको ‘क’ वर्गको कम्पनीमा आकर्षण मजबुत बन्दा सेन्सेटिभ इण्डेक्स २.४१ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९६ अंकको वृद्धि देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६६ कम्पनीका १२ लाख ७१ ह्जार ८ सय ८० कित्ता सेयर ६९ करोड २६ लाख २० हजार ६ सय ५० रुपैयाँमा किनबेच भयो । यो दिन शिखर इन्स्योरेन्सले ६ करोड ४० लाख बढीको कारोबार गर्यो । नेपाल टेलिकमले ३ करोड ५९ लाखको कारोबार गर्यो भने प्राइम लाइफको ३ करोड ३२ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ८९ लाख, बुटवल पावर कम्पनीले २ करोड १० लाख, नेशनल लाइफ इन्स्योरेन्सको २ करोड ३ लाख, एभरेष्ट बैंकले १ करोड ९१ लाख बढीको कारोबार गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन छ्याङ्दी हाइड्रोपावर लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्यमा ७.५३ प्रतिशतको वृद्धि भयो । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडको सेयर मूल्यमा समेत ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो । रिलायन्स फाइनान्सका सेयरधनीले ६ प्रतिशतको हाराहारीमा कमाए । 

यो दिन हिमालयन पावर पार्टनर लिमीटेडको मूल्य सबैभन्दा धेरै २.३५ प्रतिशतले घट्यो ।