काठमाण्डौ । सेयर कारोबारमा भ्याट लाग्ने बिषय बेलैमा टुंगोमा पुग्न नसक्दा, बैंक तथा बित्तीय संस्थाहरुका लगानीयोग्य रकमको अभाव पुनः चर्किदा, लगानीकर्तामैत्री वातावरण बनाउन सम्बद्ध निकाय उदासीन बन्दा र अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजारमा चमक आउन सकेको छैन । बजार बढाउन मुख्य भूमिका खेल्ने बिषयहरुमा सकारात्मक विकास हुन नसक्दा लगानीकर्ताको मनोबल दिनहुँ खस्किरहेको छ । जसको प्रतिबिम्ब बजारमा प्रतित भइरहेको छ । यहीकारण सोमबार समेत बजार परिसूचक ४.४२ अंकले घटेर १३८०.२९ को विन्दूमा सीमित बन्न पुुगेको छ । कारोबार रकम पनि खासै बढ्न सकेन । 

यो दिन बजारका विकास बैंक, व्यापार र अन्य समूहको सूचक बढेका छन् । विकास बैंक समूह ६.७६ अंकले बढेको छ भने व्यापार समूह ४.७२ र अन्य समूह ३.९९ अंकले बढेको छ । 

बैकिङ समूह ४ अंकले घटेको छ । यस्तै, बिमा समूह ७३.०७ अंक, होटल समूह ९.२८ अंक, जलविद्युत समूह १.७४ अंक, बित्त समूह २.१६ अंक, उत्पादनमूलक समूह १४.६३ अंक र माइक्रोफाइनान्स समूह ६.७ अंकले घटेका छन् । यो दिन धेरै बिमा कम्पनीहरुले आफ्नो दोश्रो चरणको बित्तीय विवरण प्रकाशन गरे पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएन । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स ०.७४ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.३ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५६ कम्पनीका ६ लाख ८४ हजार २८ कित्ता सेयर २४ करोड ६७ लाख ६ हजार ७ सय ८१ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी सिद्धार्थ बैंकको संस्थापक सेयरको कारोबार भयो । यो बैंकको १ करोड ७४ लाख बढीको संस्थापक सेयर किनबेच भएको हो । 

यस्तै, नेपाल बैंकले १ करोड २० लाख, एनबी बैंकले ९८ लाख, इन्भेष्टमेन्ट बैंकले ९० लाख, एभरेष्ट बैंकले ८८ लाख, सानिमा बैंकले ७९ लाख बढीको कारोबार गरे । नवील बैंकको ७७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा आरएसडिसी लघुवित्तले ७५ लाख, एनएमबी बैंकले ६७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन आगामी फागुन २२ गते हुने साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको साल्ट ट्रेडिङ कर्पोरेसनले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । हिमालयन डिस्टीलरीको मूल्य ५.२३ प्रतिशतले बढ्यो । 

यस्तै, दिव्यश्वरी हाइडोपावरले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ५.४७ प्रतिशतले घट्यो । आरएसडिसी लघुवित्त संस्थाको मूल्य पनि ५ प्रतिशतले नै घट्यो ।