काठमाण्डौ । नेपाल राष्ट्रबैंकले अनिवार्य नगद मौज्दात(सिआरआर) नपुर्याउने २ वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

कारबाहीमा पर्ने बैंकमा मेगा र लक्ष्मी रहेका छन् । वाणिज्य बैंकहरूले आफ्नो कुल निक्षेपको ६ प्रतिशत रकम अनिवार्य नगद मौज्दातका रूपमा राष्ट्र बैंकमा राख्नुपर्छ । यो व्यवस्थाअनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म सिआरआर अनुपात पुर्याउन नसकेका मेगा र लक्ष्मी बैंकलाई राष्टबैंकले नगद जरीवानाको कारबाही गरेको हो ।

केन्द्रीय बैंकले लक्ष्मी बैंकलाई ५ लाख ४० हजार २ सय २४ रुपैयाँ र मेगा बैंकलाई २ लाख २६ हजार ९ सय ७८ रुपैयाँ जरिवाना गरेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मी बैंकले ६० अर्ब २७ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । लक्ष्मी बैंकले आफ्नो निक्षेपको ६ प्रतिशतका दरमा ३ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ नगद मौज्दात राख्नुपर्छ । त्यस्तै, सोही अवधिमा मेगा बैंकले ४५ अर्ब ५७ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । मेगाले आफ्नो निक्षेपको ६ प्रतिशतका दरमा २ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ अनिवार्य नगद मौज्दात राख्नुपर्छ । तर, दुवै बैंकले तोकिएको नगद मौज्दात नपुर्याउँदा कारबाहीमा परेका हुन् ।

राष्ट्रबैंकले तोकेअनुसार नियम पालना नगर्ने २ बैंक कारबाहीमा परेका र अन्य केहीलाई पनि क्रमशः कारबाही गरिने केन्द्रीय बैंकले प्रष्ट्याएको छ । 

राष्ट्रबैंकले अनिवार्य मौज्दातको गणना साप्ताहिक औसत निक्षेप मौज्दातका आधारमा गर्ने गर्छ ।

यसैबीच, केन्द्रीय बैंकले तोकेअनुसार स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकले उर्जा र कृषि क्षेत्रमा लगानी गर्न नसकेका देखिएको छ । चालुु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले कुल कर्जाको १० प्रतिशत कृषिमा र ५ प्रतिशत उर्जामा लगानी गर्नुपर्ने सीमा तोकेको छ । तर, स्ट्यान्डर्ड चार्टर्डले ऊर्जा र कृषिमा१४.२६ र नेपाल एसबिआईले कुल कर्जाको १४.५० प्रतिशत मात्रै लगानी गरेको छ । त्यसकारण यी दुवै बैंकलाई समेत जरीवानाको कारबाही गरिनेछ । उत्पादनशील क्षेत्रमा प्रवाह गरिने कर्जा गणना गर्दा ६ महिनाअघिको कुल बाँकी कर्जा तथा सापट (बिल्स खरिद तथा डिस्काउन्टसहित) को आधारमा प्रत्येक त्रैमासमा गरिने व्यवस्था छ ।