-भक्तराज रसाइली
काठमाण्डौ । नेपाली सेयर बजारमा लञ्च भएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सफलतासँगै नेपालको सेयर बजारका लागि कोशेढुंगा साबित हुने बताइने गरिएको छ । 

यो ईन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयंले विभिन्न धितोपत्रहरु खरिदबिक्री आदेश प्रविष्ट गरी कारोबार गर्न सकिने प्रणाली हो, यसकारण समेत यसको सफल कार्यान्वयनपछि नेपालका मात्र होइन, संसारभर छरिएर रही नेपालमा लगानी गर्न चाहने नेपाली नागरिकहरुले नसोचेको सुविधा पाउनेछन् । 

प्रविधी भनेको विकास र समृद्धिको एक सेतू हो, यसले नेपाली पूँजीबजारको गरिमा र इतिहास बनाउने चौतर्फी आशाहरु थिए । ती आशाहरु अहिले बजारमा निराशामा रुपान्तरण भइरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अनलाइन ट्रेडिङ उद्घाटन गरेको करिब २ महिना बितिसक्दा लाग्दा समेत सेयर लगानीकर्ताहरुको अनलाइन ट्रेडिङमा उल्लेख्य सहभागिता हुन सकिरहेको छैन । 

विश्वकै गुणस्तरीय भनिएको यो प्रविधिमा लगानीकर्ता किन अभ्यस्त हुन सकिरहेका छैनन् ? लगानीकर्ताले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा किन चासो देखाइरहेका छैनन् ? हामीले केही सरोकारवालासँग बुझ्ने कोशिश गरेका छौ । हेरौंको उनीहरु के भन्छन् ? 

मुराहरी पराजुली(प्रवक्ता)-नेप्से
लगईन लिनेको संख्या ५ सय हाराहारी रहेको छ । नयाँ लगइनका लागि अनुरोध समेत आएको छैन । अनलाइन ट्रेडिङमा कारोबार गर्नेको संख्या ९२ जना पुग्यो । नेप्सेले एकहप्ता आफ्नै हलमा ५ सय जनालाई ट्रेडिङ्ग दिंदै अनलाइनको अधिकतम सदुपयोग गर्दै शिक्षित बनाउने पाटोमा चनाखो भएकै हो र यस विषयमा हाम्रै वेबसाईटमा भिडियो समेत हालेका छौं । अब प्रत्येक प्रदेशका मुख्य ३ वटा सहरमा कार्यक्रम लैजाने तरखरमा नेप्सेले कार्यातालिका बनाउने र सिस्टमको अधिकतम सदुपयोग होस् भन्ने चाहेको छ । नेप्से टिम त्यसका लागि माघ, फागुन र चैत महिना जाने योजना रहेको छ । खासमा अनलाइन ट्रेडिङका सवालमा न्यून सहभागिता हुनुमा पहिलेकै प्रविधिबाट सहज भएर होला कि ?  

रविन्द्र  भट्टराई ,सेयर बजार विश्लेषक 
मैले अनलाइन कारोबारको युजर नेम र पासवर्ड लिइसकेको छैन । दुर्र्इपटक प्रयास गरेँ, पासवर्ड रिेसेट गर्ने लिंक आएन । पुनः प्रयास गर्नेछु, तर यसको प्रक्रिया हेर्दा दिक्क लागेर आयो । प्रविधिले सजिलो बनाउने हो, तर यहाँ त झन् झन् गाह्रो बनाएको देखेँ । नेप्सेको साइटमा गएर लगइन गरेर आफूले चाहेको ब्रोकर छानेर कारोबार गर्न किन नसक्ने ? वा आफूले खाता खोलेको ब्रोकरको वेबपेजमा गएर सिधै लगइन गर्न किन नसक्ने ? र अनेकका लिंक पछ्याएर वा खोज्दै हिँड्नु पर्ने किन ? लगानीकर्ताको खर्बौको सम्पति माथि घिनलाग्दो खेलाची भयो यो ।

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर एसोसिएशन 
मेरो विचारमा लगानीकर्ताको आफ्नो पुरानै बानी फोन वा अफिसमा नै गएर खरिदबिक्रीको आदेश दिने प्रचलन र अर्को बैंक इन्टीग्रेसनका कारणले अनलाइनप्रति उत्साह नभएको हुनसक्छ ।  बिस्तारै बिस्तारै बानी परेपछि अनलाइन ट्रेडिङमा आकर्षण थपिएला कि । 

अम्बिकाप्रसाद पौडेल(अध्यक्ष)-नेपाल इन्भेष्टर्स फोरम 
पछिल्लो समय सक्रिय लगानीकर्ताको संख्या कम हुँदै गएको पक्कै हो । यद्यपि प्रविधिसँग अभ्यस्त नभएको र घट्दो बजारमा  सेयर लगानीकर्ताहरु पाखा लाग्ने प्रवृति हाबी भएको देखिन्छ । मेरो विचारमा यससँगै अनलाइन ट्रेडिङमा आश्वस्त हुन नसकेर पनि उत्साह नभएको होला ।

नयन बास्तोला(महासचिव)-नेपाल पूजीबजार संघ 
आन्दोलनमा होमिएका कारणले ब्रोकरकोमा गएर अनलाइन लगइन लिन पाएको छैन, तर भोलि गएर लिंदैछु । अनलाइनमा सेयर लगानीकर्ताहरुले चासो नदेखाउनका कारण चाहिँ ब्रोकरले बैंक ग्यारेन्टी वा लिमिट पैसा  राख्न भनेकाले पनि हुनसक्छ ।पुरानो प्रविधिमा चाहि दुर्इदिनसम्म पैसा बुझाउन सजिलो भएर पनि नयाँलाई नअङ्गालेको हुनसक्छन् ।

राधा पोख्रेल(अध्यक्ष)-नेपाल पूँजीबजार लगानीकर्ता संघ 
मैले अनलाइन लगइन लिईसकेको छु, तर ट्रेडिङ गरेको  छैन। लगानीकर्तामा लगईन नलिनुमा अनसन र आन्दोलन पनि कारण हो मार्केट घटिरहेको बेला आफूले किन लिने भनेर पनि हुनसक्छ । ब्रोकरले बैंक र डिम्याट इन्टीग्रेसन नभई नलिनु भनेको कारणले पनि उत्साह नआएको मेरो ठम्याई छ ।  

दीपक दाहाल ,सक्रिय लगानीकर्ता
ब्रोकरका नयाँ टर्म एन्ड कन्डिसन फलो गर्दा अकमकाउनु र सम्झौतामा देखिएको मनोबैज्ञानिक त्रासले पनि लगानीकर्तामा उत्साह नआएको जस्तो लाग्छ । मेरो विचारमा अहिले खुल्ला रुपमा गरिरहेको भोलि बन्धनमा पर्ने, विभिन्न आरोप आउने,गलत कुरा प्रविष्ट हुन जाने पाटोले पनि अनलाइन ट्रेडिङमा लगानीकर्ताको उत्साह नभएको मेरो बुझाई छ । क्यास ,चेक ,कोलाटल राख्नुपर्ने बाध्यताले बिस्तारै सिक्दै जाने भन्ने प्रवृति पनि अर्को कारण हुनसक्छ ।