-चन्द्रकान्त खनाल
रुपन्देही । बुटवल उपमनगरपालिकाले देशमै पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रियाको सुरुवात गरेको छ । यो कार्यक्रम यस क्षेत्रमै नमुना र पहिलो प्रयास हो । 

खेतीयोग्य जमिन मासिने र नाशिने क्रमले कृषि कर्म समेत प्रभावित हुँदै गइरहेका बेलामा कृषिमा आकर्षण बढाउन यस्तो अभियान सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । 

उपमहानगरले अनुदानका रुपमा किसानलाई वितरण गरेको मौलिक पोषक विऊबाट उत्पादित धानलाई धितोका रुपमा राख्ने व्यवस्था मिलाएको छ ।

किसानले उत्पादन गरेको धानलाई टोलकै सहकारीमा धितो राखेर सहकारी मार्फत किसानलाई ऋण प्रदान गर्ने कार्यक्रम यस क्षेत्रको नयाँ अभियान हो । धानखेतीका लागि उपयुक्त योजना अनुसार बिहीबार बुटवल–१४ सेमलारमा रहेको सिम्रीक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको विचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । 

बुटवल उपमानरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाहाले उक्त सम्झौतामा हस्ताक्षर गरे । बुटवलको सेमलार, मोतिपुर क्षेत्रका  किसानहरुले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मूल्यबिना नै बिक्री गर्दै आएका थिए ।

अब किसानहरुले  सहकारीमा आफु्ले उत्पादन गरको धानलाई सहकारीमा  धितोको रुपमा राखेर कृषि ऋण लिन सक्छन् । किसानहरुले  यसरी उत्पादन गरेको धान सहकारीमा राखेमा कुनै पनि भाडा तिर्नुपर्दैन । किसानको भाडा नगरपालिकाले तिरिदनेछ । त्यसक्षेत्रको करिब तीन हजार हेक्टरमा धान खेती हुँदै आएको अनुमान छ । ती खेतहरुमा सिंचाईको समेत प्रबन्ध छ ।

सेमलार र मोतिपुरका खेतियोग्य जमिनलाई थप प्लटिङ हुन नदिई र अहिलेका त्यहाँका बस्तीलाई समेत व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा स्थानीय किसानहरुबीच छलफलसमेत चलिरहेको उपप्रमुख गुमादेवी आचार्यले बताईन । 

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले किसानहरुको समस्यालाई सामाधान गर्नको लागि पहिलो चरणमा किसानहरुको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको उल्लेख गर्दै अब प्रोत्साहनका नयाँ कार्यक्रम बनाइने बताए।

आगामी दिनमा अन्य गहुँ, दाल जन्य कृषि उपज समेत भण्डार गरी किसानहरुलाई ऋण उपलब्ध गराउने तयारी गरिएको उनको भनाइ छ । 

उपमहानगरका वरिष्ठ कृषि अर्थ विज्ञ भीमनाथ शर्माका अनुसार साबिकको मोतिपुर र सेमलार गाबिसमा पर्ने ६ वडालाई उपनगरपालिकाले कृषिमा बिशेष प्राथमिकता दिने योजना बनाउँदै छ । किसानहरुले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरे बापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने छ । जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो ।

किसाले यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋण समेत प्रदान गर्ने सम्झौता गरिएको छ । ऋण चुक्ता पश्चात किसानले आफ्नो धान बिक्री गर्न पाउने सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादु गाह मगरले जानकारी दिए ।