-भक्तराज रसाइली 
काठमाण्डौ । स्टक ब्रोकर एसोसिएशनका सदस्य समेत रहेका २९ वर्षीय सुमन गौतम स्टक ब्रोकर ओपल सेक्युरिटीज इन्भेस्टमेन्ट प्रालि, अर्थात ब्रोकर नम्बर ४ का एमडी हुन् । 

सूर्य लाइफ इन्स्योरेन्समा पब्लिक डाइरेक्टरको भूमिका समेत निर्वाह गरिसकेका उनको  पुख्र्यौली घर स्याङ्जाको फेदीखोला गाउँपालिकामा हो भने हाल काठमाण्डौ–३ धापासीका बासिन्दा हुन् । इन्फ्रास्टक्चर युनिभर्सिटी क्वालालम्पुरको एमबीए  दिक्षित उनले ब्रोकर पेशा सम्हालेको चाहिँ करिब डेढ वर्ष मात्र भयो । 

एसएलसी दिएर उच्च शिक्षाका लागि राजधानी छिरेका गौतमले पढ्दै होटल याक एण्ड यतिमा काम गर्थे । होटलका सेफ, मेनेजर, सुपरभाइजरहरुले आइपीओ भर्न लाइनमा पठाएका उनै गौतमलाई त्यहीँबाट सिनियरहरुले दोस्रो बजारमा सेयर खरिदबिक्रीको बिल भुक्तानी गर्न जाने र चेक लिएर आउँदा उनमा पनि सेयरबाट मनग्ये आम्दानी हुन्छ भन्ने लागेछ । अनि सेयरमा रस पस्दै जाँदा होटलको जागिर छोडेर आफूसँग भएको ३५ हजारबाट लगानी सुरु गरे । 

सेयर किनेको केही समयमै डबल पैसा भएपछि त उनले आफ्नो पोर्टफोलियो अझै बढाउँदै २ लाख पुर्याए, त्यसपछि लगानी थप्दै उनी सेयर बजारमा लगानीकर्ताका रूपमा उदाए । 

यसपछि एउटा इन्भेस्टमेन्ट कम्पनी खोलेर सीइओका रुपमा समेत सक्रिय भए । हाल उनी ब्रोकर पेशामा मात्रै एकमग्न भएर लगानीकर्ताहरुलाई विशुद्ध सेवा दिन लागिपरेका छन् ।

उनको ब्रोकरेज हाउस पुरानो लटकै हो । पुरानो व्यवस्थापनमा भएको निष्क्रियताका कारण कारोबारका हिसाबमा अन्तिममा आउने उनको ब्रोकर हाल टप टेन भित्र परेको गौतमको दाबी छ । 

परिवारका अन्य सदस्य तथा आफन्त सरकारी जागिरे, तर आफू सेयर ब्रोकरको पेशामा आबद्ध भइएला भन्ने उनलाई लागेको थिएन, तर जीवनको गाडीलाई ब्रोकर पेशाको मोडमा ल्याइदिंदा उनी आफैंलाई पनि कहिलेकाही आश्चर्य लाग्छ ।

हाल उनले हाकिरहेको ब्रोकर कम्पनी ०७५ सालमा खरिद गरेर उनी नेतृत्वको टिमले चलाइरहेको छ । यो ब्रोकरमा हाल सबै कर्मचारी ३० वर्षमुनिका युवा तथा तन्नेरी छन् । 

सातजना प्रमोटर रहेको कम्पनीका अध्यक्षमा  नवराज पोख्रेल छन्। ५ करोड चुक्तापूँजी रहेको कम्पनीको नेटवर्थ ६ करोड ७० लाख रहेको छ । 

कम्पनीमा ८ जना कर्मचारीहरु कार्यरत छन् । हालसम्म कुनै शाखा नरहेको कम्पनीले स्याङ्जाको वालिङ र पुतलीबजार, इटहरी, जनकपुर र पोखरामा शाखा विस्तारका लागि बोर्डमा आवेदन दिएको छ । ब्रोकर नम्बर ४ ले  हाल काठमाण्डौ २ उत्तरढोका लाजिम्पाटबाट ब्रोकरेज सेवा दिइरहेको छ ।

डीपी सेवा सञ्चालन नगरेका उनले डीपी सहजै पाए लिने बताए । 

केवाइसी अपडेट जम्मा १० हजार ८ सय २७ रहेको ओपलमा दैनिक ग्राहक उपस्थिति ३० जना र दैनिक कारोबारी औसत १५ जना छन् । कम्पनीमा ३४ जना संस्थागत लगानीकर्ता सेयर कारोबारी रहेको तथ्यांक छ । 

कम्पनीले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म कुल  ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ ।

‘४९औं नम्बरमा रहेको ब्रोकर नम्बर ४ टप टेन भित्र आउन सफल भएको छ।’ गौतमे बिजशालासँग भने–‘यो नै हाम्रो बलियो पक्ष हो जस्तो लाग्छ र अर्को कुरा लगानीकर्ताले हाम्रा सेवाको विषयमा गुनासो गर्ने कुनै वातावरण दिंदैनौ ।’

कुकिङमा विशेष चाखकै कारण होटलमा काम गर्दै संघर्षमा रम्दै ३५ हजारबाट अहिले करोडौं बनाएका गौतमले इमानदारीपूर्वक विशुद्ध ब्रोकरेज सेवा दिने उद्देश्यले नै ब्रोकर पेशा रोजेको बताए । 

ब्रोकरेज व्यवसायमा रहेको अस्वस्थ प्रतिस्पर्धाबाट बाहिरिएको र गुणस्तरीय सेवामा जोड दिने ब्रोकरका रुपमा आफूलाई चिनाउन चाहेका उनले सेयर खरिदबिक्रीमा मात्र खुम्चिनु पर्दा दुःख लागेको सुनाए । डिलर, पोर्ट्फोलियो व्यवस्थापन सेवा, परामर्शदाता लगायतका सेवा संचालनको समेत अनुमति दिई अझ धेरै प्रगति गर्न सकिने उनको भनाई छ । 

नयाँ लगानीकर्ताहरुलाई उचित गाइडलाइन,सतर्कता र समान व्यवहार,सफा शौचालय, आरामदायी कुर्सी, चियापान, शान्त वातावरण लगायतका सेवासुविधा दिएको दाबी गर्दै गौतमले खरिदबिक्रीको लेनदेनमा सहज व्यवस्था रहेको बताए । 

बेलाबेलामा विज्ञहरुबाट विभिन्न तालिम समेत संचालन गर्दै आएको र  बिहान ९ः३० देखि बेलुकी ५ बजेसम्म सेवा दिइरहेको उनले जानकारी दिए।

लगानीकर्ताहरुलाई एकपटक सेवा लिन आग्रह गर्दै गौतमले गुनासोरहित सेवा दिइने जिकिर समेत गरे ।

सेयर खरिदबिक्रीमा मात्रै सीमित नराखी नियामकले फूलफेज ब्रोकरका रुपमा काम गर्न दिनुपर्ने माग राखे ।

पूँजीबजार मुलुकको  विकासका लागि थप पूँजी जुटाउने माध्यम रहेको उल्लेख गर्दै उनी भन्छन्–‘विकासको आधार र माध्यम नै पूँजीबजार भएकाले सरकारले समेत विशेष प्राथमिकता दिइनुपर्छ ।’ 

डेढ वर्षको ब्रोकरेज पेशाको दौरानमा एकपटक नियामकीय कार्वाहीमा परेको जानकारी दिंदै उनले बिजशालासँग भने–‘व्यवस्थापन परिवर्तन गर्दा नयाँ अडिटर नियुक्तिका ढिलाइले प्राविधिक कठिनाई भएर कारबाहीमा परियो, तर त्यसपछि भने कुनै कारबाही भोग्नु परेको छैन ।’

पूँजीबजारको विकास तथा विस्तारका लागि रियल सेक्टरको प्रवेश आवश्यक रहेको उनको ठम्याई छ । 

सरकारले प्राथमिकतामा नराखेको क्षेत्र पूँजीबजार भएको जिकिर गर्दै घाटामा सेयर बेच्दा कर समायोजन हुनुपर्नेमा जोड दिए ।

लगानीकर्ताको आँखामा ब्रोकर नम्बर ४
ऋषिराम पौडेल,जागिरे ,लाजिम्पाट,२७ वर्ष 
विगत ५ वर्षदेखि सेयर बजार प्रवेश गरेको मैले यहाँबाट  सेवा लिएको डेढ वर्ष  भयो । यहाँ सहज सुविधा, सहयोगी कर्मचारी, उचित सल्लाह, मैत्रीपूर्ण व्यवहार र राम्रो प्रतिक्रिया दिने भएकोले ब्रोकर नम्बर ४ बाट धेरै सन्तुष्ट छु । निकट समयमा यहीँबाट मार्जिन कारोबार सुविधा लिन पाए हुन्थ्यो भन्ने इच्छा छ।  म १० नम्बरमा ९ नम्बर दिन्छु । 

अनुस केसी, पर्यटन व्यवसायी, जावलाखेल, ३२ वर्ष 
म ४ वर्षदेखि सेयर बजारमा सक्रिय रहदै आएकोमा यहाँ नयाँ व्यवस्थापन आएदेखिकै सेवाग्राही हुँ । सहज र सरल सुविधा भएकोमा खुशी नै छु । मैले १० नम्बरमा ९ नम्बर दिन चाहेँ । 

सुनिल सुवेदी, सक्रिय लगानीकर्ता,महाराजगञ्ज, ३२ वर्ष 
विगत ५ वर्षदेखि सेयर बजारमा सक्रियता जनाएकोमा यहाँबाट सेवा लिएको पनि ५ वर्ष नै भयो । यहाँको पारिवारिक वातावरणबाट पूर्ण सन्तुष्ट छु । मार्जिन लोनको सुविधा यहीँबाट भए राम्रो हुन्थ्यो । म १० नम्बरमा ९ नम्बर दिन्छु ।