काठमाण्डौ । बेला–बेला भइरहेके कुटनीतिक टक्करकै बीच भारत सरकारले केही चिनिया कम्पनीले उत्पादन गरेका मोवाइलको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसका साथै इलक्ट्रोनिक, स्टील, दूधजन्य केही आइटमहरुको आयातमा समेत प्रतिबन्ध लगाइएको छ । 

जे जे आइटममा प्रतिबन्ध गरिएको छ, ती उत्पादनहरु अब कोही कसैले पनि भारतमा आयात गर्नु गैरकानूनी मानिने त्यहाँका सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।

वाणिज्य मन्त्री निर्मला सीतारमणले लोकसभामा प्रतिबन्धको बिषयमा जानकारी दिंदै गुणस्तरमा समस्या आएपछि र केही चिनियाँ उत्पादनहरुको गुणस्तरमाथि नै पटक–पटक विभिन्न क्षेत्रबाट प्रश्न उठेपछि उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारले आयात नै प्रतिबन्ध गर्ने निर्णय गरेको दाबी गरिन् । 

तर भारत सरकारले चिनबाट आयात हुने सबै खालका मोवाइल प्रतिबन्धित गरेको भने होइन । यस्ता मोवाइल फोन, जसमा आइएमईआई नम्बर तथा अन्य सेक्युरिटी फिचर्स छैनन्, यस्ता मोवाइलको आयात बन्देज गरिएको त्यहाँका संचारमाध्यमहरुले बताएका छन् । 

भारत सरकारले जुन–जुन चिनिया उत्पादनहरुमाथि बन्देज लगायो, तिनको गुणस्तर अत्यन्त खराब थियो । वाणिज्यमन्त्री सीतारमणले स्पष्ट भनेकी छिन् कि आगामी दिनमा समेत चिनबाट आउने त्यस्ता खराब गुणस्तरको कुनै पनि उत्पादन भारतले स्वीकार गर्नेछैन । 

निर्मलाका अनुसार हाल मौजुद विश्व व्यवस्थामा कुनै पनि देशको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउन मिल्दैन । भारत र चीनबीच जारी कुटनीतिक खिचातानीकै बीच भारतले केही चिनिया उत्पादनको आयातमाा बन्देज लगाएको हो । भारतले हालै चीनको विद्रोही उइगर नेताका लागि भिजा जारी गरेपछि फेरि भिजा फिर्ता लिएको थियो । 

चीन र भारतबीचको व्यापार सन्तुलनलाई हेर्ने हो भने वर्तमान अवस्थामा चीन निकै बलियो छ । सीतारमणका अनुसार सन् २०१५–१६ मा चीनसँग भारतको व्यापार घाटा ४८.८ अर्ब डलर पुगेको छ । यो दौरान दुई देशबीच ६५.१६ अर्ब डलर बराबरको कुल कारोबार भएको थियो । भारतले व्यापार असन्तुलनको यो मुद्धा चीनसँग धेरैपटक उठाइसकेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । तर भारतले उठाएको यो मुद्धाप्रति चीनले सकारात्मक प्रतिक्रिया दिएको छैन । भारतले उठाउने गरेको प्रसंग र राख्ने गरेको तर्कप्रति चीन असहमत छ । बरु कहिलेकाही भारतबाट सस्तो दबाई चीनतर्फ तस्करी हुने गरेको मुद्धा चाहि दुई देशबीच पेचिलो बनेर उठ्ने गरेको छ ।