काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेश सभाको ऐतिहासिक निर्वाचनको दोश्रो चरण अन्तर्गत ४५ जिल्लामा आज बिहानैदेखि मतदाताहरु उल्लासमय वातावरणमा मतदान गरिरहेका छन् । 

सर्वसाधारणसँगै विभिन्न दलका शीर्ष नेताहरुले समेत विभिन्न मतदान केन्द्रबाट मतदान गर्ने क्रम जारी छ । 

प्रधानमन्त्री  शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ को असिग्राम माविबाट विहान १०ः२० मा मतदान गरेका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका छन् । उनले बिहान ७ बजेर १३ मिनेट जाँदा मतदान गरेका हुन् ।

चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् । मतदानपछि सञ्चारकर्मीलार्ई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले गठबन्धनअनुसार नै आफूले मतदान गरेको बताए ।

दाहाल पत्नी सीता दाहाल र कान्छी छोरी गंगा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन् भने माइली छोरी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले निमावि सुन्दरबस्ती मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको क्षेत्रनम्बर १ अन्तर्गत सत्यावति माविको ख मतदान केन्द्रबाट मत खसालेका छन् । उनी सोह क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार समेत छन् ।

 कांग्रेसका अर्का नेता शेखर कोइरालाले विराटनगरको आदर्श मावि केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् । उनी मोरंग ६ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार हुन् । 

कांग्रेस नेता कृष्ण सिटौलाले झापाको भद्रपुरबाट मतदान गरेका छन् ।  

इलाम २ मा वामगठबन्धनका उम्मेदवार सुवास नेम्वाङले सात बजे मतदान गरेका छन् । बालमन्दिर केन्द्रबाट नेम्वाङले मतदान गरेका हुन् ।

एमाले उपाध्यक्ष भीम रावलले अछामबाट मतदान गरेका छन् । 

गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार (एमाले नेता) प्रदीप ज्ञवालीले बम्घा निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् । 

तुलसीपुर उपमहानगर १९ बाट एमाले नेता शंकर पोखरेलले मतदान गरेका छन् ।

बाम गठबन्धनका अर्का नेता गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दिबासस्थित दूधेश्वर प्रावि केन्द्रबाट मतदान गरेका छन् । उनी महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

मधेशवादी नेता हृदयेश त्रिपाठीले नवलपरासी(पश्चिम)को केवलपुरस्थित जनजागृति विद्यालयबाट र राजपा नेता अनिल झाले रौतहटको दुर्गाभगवतीबाट मतदान गरेका छन् ।

राप्रपा(प्रजातान्त्रिक)का महामन्त्री सुनिलबहादुर थापाले धनकुटाबाट, एमाले नेता लालबाबुु पण्डितले मोरंगबाट, उपेन्द्र यादवले सप्तरीबाट मतदान गरेका छन् । 

.........................................................

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका ८ ककौरामा रहको त्रिभुवन माविबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाण्डौको पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गरेका छन् । 

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन् । 

काठमाडौँ निर्वाचन क्षेत्र–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा एमालेका महासचिव ईश्वर पोखरेलले स्काइलार्क स्कूल मतदान केन्द्र धापासीबाट मतदान गरेका छन् । 

प्रतिनिधिसभा र प्रदेश सभाका लागि दोस्रो चरणको बिहीबारको निर्वाचनमा नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्र–२ बुटवल उपमहानगरपालिका–८स्थित सडक विभाग मतदान केन्द्रबाट मतदान गरेका छन् । 

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् ।

मतदाताको संख्या १ करोड २२ लाख ३५ हजार ९९३ छ ।