काठमाण्डौ । ‘बुल रन’ले सेयर बजारमा माघको चिसो मौसममा पनि तातो माहौल छ । यही माहौलमा विभिन्न माध्यमबाट लगानी जुटाएर सेयर बजारमा खन्याउनेहरुको दौडधूप समेत हिजोआज हेर्न लायक छ । 

एकातिर बढ्दो सेयर बजारमा लगानी गरेर दुईचार पैसा कमाउने ठूलो पंक्ति छ भने अर्कोतर्फ थोरै पैसा हुनेहरु समेत विभिन्न स्रोत वा माध्यमबाट लगानी जुटाएर दिल खोलेरै सेयरमा लगाइरहेका छन् । 

बजारमा खरीदबिक्रीको मारामारी चलिरहेको बेला विभिन्न बैंकहरुले प्रवाह गर्ने सेयर धितो कर्जामा समेत उस्तै आकर्षण छ । कतिपय कमजोरीका कारण ब्रोकरहरुले प्रवाह गर्ने भनेको मार्जिन लेण्डिङमा लगानीकर्ताको ध्यान छैन । बरु बैंकहरुले सहजै प्रवाह गर्ने सेयर धितो कर्जामा भने धेरैको ध्यान बढ्दै गएको छ । 

राष्ट्रबैंकले सेयर धितो राखेर ६५ प्रतिशतसम्म कर्जा दिनसक्ने व्यवस्था मौद्रिक नीतिमार्फत गरेको छ । यो व्यवस्थाको फाइदा उठाएर भएको सेयर धितो राखी थप लगानी जुटाउने र थप लगानी गरी राम्रै रिटर्न लिने ध्याउन्न अधिकांश लगानीकर्ता भेटिन्छन् । 

लगानीकर्ताहरुमा बढ्दै गएको लगानीको यही प्यास र नशाको रफ्तारलाई बुझेका वाणिज्य बैंकका प्रतिनिधिले यो गरमागरम माहौलमा आफ्नो प्रतिनिधि ब्रोकर हाउससम्मै पठाएर कमालको व्यापार गरिरहेका छन् । उनीहरु ब्रोकर हाउसका संचालक र लगानीकर्तासँग आफूकहाँबाट सेयर लोन लिइदिन अनुनय गरिरहेका दृश्य हिजोआज सामान्य बन्न थालेका छन् । तुलनात्मक रुपमा अन्य सेक्टरमा कर्जा प्रवाहमा कडाइ हुनु र सेयर बजारलाई सुरक्षित लगानी ठानेर पछिल्लो समय बैंकहरु सेयर धितो कर्जामा आकर्षित बन्न थालेका पाइएको छ । तर, बैंकका यस्ता प्रतिनिधिहरुसम्म सबै लगानीकर्ता जोडिदैनन् । सोझै बैंकमा गएर त्यहाँबाट सेयर धितो कर्जा कसरी लिने भन्ने विषयमा समेत कतिपय लगानीकर्तामा अन्यौल देखिन्छ । अझ सेयर धितो कर्जामा कुन बैंकले कति ब्याज लिन्छ र कर्जा स्वीकृत हुन कति दिन लाग्छ भन्ने विषय धेरै कम लगानीकर्तालाई मात्र थाहा छ । बजार बुलिस गतिमा कुदेको यही बेला लगानीकर्तालाई सहज होस् भन्ने उद्देश्यले हामीले विभिन्न बैंकका कर्जा शाखाको सहयोगमा कुन बैंकबाट सेयर धितो कर्जा कति प्रतिशत ब्याजदरमा पाइन्छ र सबै कागजातसहित आवेदन दिएको कति कार्यदिनमा लोन स्वीकृत हुन्छ भन्ने विषय खोजी गरी तलको टेबलमा प्रस्तुत गरेका छौ । 

हेरौं कुन बैंकमा सेयर धितोकर्जा कति ब्याजदरमा पाइँदो रहेछ ? र, कति दिनमा त्यस्तो कर्जा स्वीकृत हुँदो रहेछ ?-