काठमाण्डौ । विशिष्ट वा तिनका परिवारले आफ्नो कमाई बचत गर्न, ऋण लिन वा कारोबार गर्न बैंक तथा बित्तीय संस्था छनौट गर्दा निकै धेरै ध्यान दिने गर्छन् । व्यक्तिगत सूचनाको चुहावटदेखि लिएर लगानीको सुरक्षा तथा गोपनीयता, अनि गुणस्तरीय सेवालाई समेत ध्यान दिएर उनीहरुले बैंक तथा बित्तीय संस्था रोजेका हुन्छन् । 

यस्तो छनौटको क्रममा केही–केहीलाई आफन्त, नातागोता वा आफ्नै लगानीको बैंक वा बित्तीय संस्था भएकोले समेत बाध्यता पर्नसक्छ । यस्तो बाध्यतालाई हटाएर हेर्ने हो भने देशलाई मार्गदर्शन गर्ने मन्त्रीहरुको छनौटलाई सर्वसाधारणले पनि पछ्याउन सक्छन् । 

हामीले यहाँ मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरण र त्यहाँ उनीहरुले रकम बचत गर्न, ऋण लिन तथा सेयर खरीदका लागि छनौट गरेका बैंकहरुको चर्चा गर्न खोजिरहेका छौ । उनीहरुको रोजाईमा कुन–कुन बैंक परेछन् भन्ने यहाँ देखाउन खोजिएको हो । यसको अर्थ उनीहरुको रोजाईकै बैंक मात्र राम्रा, अरु नराम्रा भन्न खोजिएको होइन । तर, उनीहरुको रोजाईले केही न केही अर्थ चाहि पक्कै राख्छ नै । 

हेरौं कसको रोजाईमा कुन बैंक ?
सरकारले अनिवार्य खाता खोल्नुपर्छ भनेर ह्वीप लगाए बाहेकका बैंकहरुको अध्ययन गर्दा प्रधानमन्त्री केपी ओली र १७ मन्त्रीहरु तथा तिनका परिवारको छनौटमा कृषि विकास बैंक सबैभन्दा माथि रहेको छ । सरकारी लगानी समेत रहेको यो बैंकमा रकम जम्मा गर्न र ऋण लिनका लागि ६ मन्त्री वा तिनका परिवार गएका देखिन्छ । 

यस्तै, ५ मन्त्री र तिनका परिवारले खाता खोलेका कारण यो सूचिमा माछापुच्छे र नेपाल इन्भेष्टमेन्ट बैंक दोश्रो स्थानमा छन् । ४ मन्त्री परिवारको रोजाईका कारण नवील बैंक तेश्रो स्थानमा छ भने तीन परिवारका रोजाईका कारण नेपाल एसबीआई बैंक चौथो स्थानमा छ। यस्तै, मेगा, सानिमा, नेपाल बंगलादेश बैंक २ २ मन्त्री तथा तिनको परिवारका रोजाईका कारण पाँचौ स्थानमा छन् । 

मन्त्री तथा तिनका परिवारले रकम जम्मा गर्न, ऋण लिन तथा कारोबार गर्नका लागि यो सूचिमा कुमारी बैंक, हिमालयन बैंक, जनता बैंक, प्रभू बैंक, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी, नेपाल बैंक र सिद्धार्थ बैंकलाई रोजेका पाइएको छ । यो सूचिमा गण्डकी विकास बैंक, मुक्तिनाथ विकास बैंक र गुड्विल फाइनान्स पनि परेका छन् । 

कसको खाता कहाँ ?
सम्पत्ति विवरणमा उल्लेख भएअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यको माछापुच्छे र प्रभू बैंकमा खाता रहेको छ । ईश्वर पोखरेल र उनकी पत्नीको नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा र माछापुच्छेमै खाता रहेको छ । उनीहरुले घर निर्माणका लागि माछापुच्छेबाट ऋण लिएका देखिएको छ । 

प्रदीप ज्ञवालीको तलब आउने बाहेकको कारोबारका लागि कृषि विकास बैंकमा खाता छ भने रघुवीर महासेठ र उनकी पत्नी जुली महतोको नवील, माछापुच्छे, एनआइसी एशिया, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल इन्भेष्टमेन्ट बैंक तथा गुड्विल फाइनान्समा खाता रहेको छ । 

गिरिराजमणि पोखरेलको नेपाल बंगलादेश बैंक, मातृका यादवको नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता रहेको छ । यस्तै, गोकर्ण बिष्टको इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, नवील बैंकमा खाता छ भने उनले सिद्धार्थ बैंकबाट ऋण लिएका छन् । 

लालबाबु पण्डितले कृषि विकास बैंक, थममाया थापाले माछापुच्छे, कुमारी बैंक, जगतबहादुर विश्वकर्माले नवील बैंक, रविन्द्र अधिकारीले गण्डकी विकास बैंक, युवराज खतिवडा तथा उनकी पत्नीले नवील, माछापुच्छे, इन्भेष्टमेन्ट, सानिमा, जनता बैंकमा खाता  खोलेका छन् । 

यस्तै, चक्रपाणी खनालले हिमालयन बैंक र नेपाल एसबीआई बैंकमा खाता खोलेका छन् भने उनले इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, सानिमा र प्राइम कमर्सियल बैंकमा लगानी समेत गरेका छन् । 

शेरबहादुर तामाङले ऋण लिन कृषि विकास बैंक रोजेका छन् भने राज्यमन्त्री पद्माकुमारी अर्यालले मेगा, कृषि विकास र मुक्तिनाथ विकास बैंकमा खाता खोलेकी छिन् । उनले ऋण लिन नेपाल एसबीआई बैंक रोजेकी छिन् । 

सरकारी छनौट चाहि किन एभरेष्ट बैंक !
धराप अवस्थामा पुगेको भारतीय बैंक, पञ्जाब नेशनल बैंक(पिएनबी)को २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंक सरकारको छनौटमा परेको देखिएको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक, सरकारकै समेत लगानी रहेको नेपाल बैंक तथा कृषि विकास बैंकलाई छाडेर सरकारी कारोबार(मन्त्रीहरुको तलबभत्ता जम्मा)का लागि के आधारमा एभरेष्ट बैंकलाई छनौट गरियो ? भन्ने कुरा रहस्यमय देखिन्छ । नेपालको पूर्ण लगानीका तगडा बैंक हुँदाहुँदै मन्त्री जति सबैको खाता एभरेष्ट बैंकमा खोल्न लगाएको देखिनुलाई कतिपयले आश्चर्य मान्न सक्छन्, जुन अस्वभाविक होइन । 

खासगरी, एभरेष्ट बैंकमाथि नेपालका उच्च पदस्थहरुको सूचना गोप्य रुपमा बैकिङको बाहानामा भारत पुर्याउने गरेको आक्षेप लाग्दै आएको छ । बैंकले यस्तो आक्षेपको चित्तबुझ्दो खण्डन अझै गर्न सकेको छैन । यस्तो आक्षेप लागेको बैंकमै देशका मन्त्रीहरुको खाता खोलिनु, त्यसमै तलबभुक्तानी गरिनुलाई कतिपयले ‘रहस्यमय’ पनि भनेका छन् । सरसर्ती हेर्दा सरकारी लगानीकै बैंकलाई प्रोमोट गर्न छाडेर सरकारले भारतीय लगानीको एभरेष्ट बैंकलाई रोज्नुको विशेष कारण केही पनि देखिँदैन । 

यसकारण सबै मन्त्रीहरुलाई एभरेष्ट बैंकमा खाता खोल्न लगाइएको भए पनि त्यो स्वस्फूर्त उनीहरुको रोजाईमा परेको बैंक चाहि होइन ।