काठमाण्डौ । एनसीसी र अन्य चारवटा विकास बैंकसँग जारी मर्जर भाँडेर आफैं पूँजी पुर्याउने योजनामा रहेको कुमारी बैंक लिमीटेडले ५० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव गरेको छ । 

बैंकको सोमबार बसेको ७४ औं बोर्ड बैठकले पूँजी वृद्धिको उद्देश्यले ५० प्रतिशत हकप्रद निश्कासनको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी विशेष साधारणसभा तथा नेपाल धितोपत्र बोर्डबाट समेत स्वीकृत हुनुपर्छ । 

कुमारी बैंकको चुक्तापूँजी हाल २ अर्ब ६९ करोड रुपैयाँ छ । ५० प्रतिशत हकप्रदपछि बैंकको चुक्तापूँजी १ अर्ब ३५ करोडले बढेर ४ अर्ब ४ करोड रुपैयाँ पुग्ने बताइएको छ । 

गत वर्ष  कुमारी बैंकले ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । कुमारी बैंकले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड १ लाख खूद नाफा कमाएको थियो ।