काठमाण्डौ । एनसीसी बैंकसँगको मर्जरबाट अलग भई आफ्नै प्रयासमा पुँजी वृद्धिको बाटोमा अगाडि बढेको कुमारी बैंक लिमीटेड र उसँग बिलयको प्रक्रियामा रहेका अन्य चार बित्तीय संस्थाबीचको एकीकृत बित्तीय कारोबार आगामी असार १२ गतेदेखि हुने भएको छ ।

कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई आफूमा गाभ्ने प्रक्रिया लगभग पूरा गरेको हो । कुमारीलाई नेपाल राष्ट्रबैंकले यी चार कम्पनी गाभ्न जेठ १७ गते अन्तिम स्वीकृति दिएको थियो ।

कुमारीले यी चारैवटा बित्तीय संस्थालाई १०० बराबर ८५ को सेयर स्वाप रेसियोमा गाभ्न लागेको हो । यसको अर्थ यी चार कम्पनीको १०० सेयर रहेका धनीले मर्जरपछि बन्ने कुमारी बैंकको ८५ सेयर पाउनेछन् ।

कुमारी बैंकको हाल चुक्तापुँजी ३ अर्ब २६ करोड रुपैयाँ रहेको छ । हालै कुमारी बैंकले ५० प्रतिशत हकप्रद र २१ प्रतिशत बोनस सेयर जारी गरेको थियो । बोनस र हकप्रदपछि बैंकको चुक्तापुँजी ४ अर्ब ६१ करोडको उचाईमा पुग्नेछ । चारवटा बित्तीय संस्था गाभेपछि चुक्तापुँजी ५ अर्ब ९६ करोडको उचाईमा पुग्नेछ ।