काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि कामपाका जीवित देवी कुमारीलाई मासिक रु १५ हजारको दरले भत्ता दिने  भएको छ ।
पच्चीसौँ महानगर दिवसका उपलक्ष्यमा सहयोगापेक्षी सडकमानवमुक्त अभियानको घोषणा पनि  गरिने छ । उक्त अभियान मानवसेवा आश्रमको सहकार्यमा कामपाले सञ्चालन गर्न लागेको हो ।  यही मङ्सिर २८ र २९ गते महानगर दिवस मनाइँदै छ ।  विसं २०५२  मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो  । 
कामपाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा  प्रमुख विद्यासुन्दर शाक्यले स्थानीयवासीका  सुझावका आधारमा हरेक वर्षका कार्यक्रमलाई जनापेक्षाबमोजिम सुधार गदैै लगिने बताउनुभयो । 
कामपा प्रमुख शाक्यका अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ ।  कार्यक्रममा ‘परम्परागत वाद्यवादन, वाद्यवादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिविधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता रहने छ ।   
महानगर दिवसका उपलक्ष्यमा ज्यापु समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६० गुथि, गुँलाबाजाका २३ समूहका बाजा गुरुलाई नगदसहित सम्मान गरिने छ । महानगरले १०  पत्रकारलाई वितरण गर्दै आएको महानगर सुशासन पत्रकारिता पुरस्कार यस वर्ष पनि निरन्तरता दिने छ  । गत वर्ष जस्तै यस पटक पनि व्यक्तिगत र संस्थागत रुपमा नियमित कर तिर्ने उत्कृष्ट करदातालाई  सम्मान गर्ने कार्यक्रम छ । विद्यालयको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) स्तरीय ‘मेरो काठमाडौं, म बनाउँछु’ विषयमा निबन्ध प्रतियोगिता र माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय ‘सांस्कृतिक शहर, काठमाडौं नगर’ विषयमा कविता प्रतियोगिता आयोजना भइसकेको छ । दिवसका अवसरमा शनिबार बिहान माइतीघरमण्डलदेखि तीनकुनेसम्म साइकल यात्रा आयोजना  गरिने छ ।