काठमाण्डौ । कुमारी बैंक लिमीटेडलाई धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ । 

योसँगै बैंकले निकट भविष्यमै १० वर्षे अवधिको रु. ३ अर्ब बराबरको ऋणपत्रका युनिट निश्कासन गर्नेछ। 

बोर्डले बैंकलाई '१०.२५% कुमारी बैंक डिवेञ्चर-२०८६' निश्कासनको अनुमति दिएको हो । 

बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

कतिपय वाणिज्य बैंकले छोटो अवधिका ऋणपत्रमा समेत १० प्रतिशत मात्र ब्याज दिइरहेको बेला कुमारीले लामो अवधिका लागि निश्कासनको गरेको ऋणपत्रमा अफर गरेको ब्याज आकर्षक हो । 

पछिल्लो समय राम्रो ब्याज अफर गर्ने बैंकहरुको ऋणपत्रमा लगानीकर्ताहरुको आकर्षण देखिइरहेको छ । यसअघि प्रभू बैंकले निश्कासन गरेको रु. १ अर्ब रुपैयाँको ऋणपत्र समय सीमा भन्दा निकै अघि बिक्री भएको थियो भने सनराइज बैंकले समेत समयमै ऋणपत्र बिक्री गर्न सकेको थियो । 

नेपाल राष्ट्रबैंकले बैंकहरुलाई दीर्घकालीन प्रकृतिका स्रोतको व्यवस्थापनमा सहयोग हुने हिसाबले कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र निश्कासनको व्यवस्था गरेसँगै बजारमा एकपछि अर्को ऋणपत्र आइरहेका छन् । 

कुमारीले निश्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमीटेड रहेको छ । 

कुल ३ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि निश्कासन हुनेछ भने बाँकी रहेको १ अर्ब ८० करोडको ऋणपत्र प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री हुने बताइएको छ । 

कुमारी बैंकको हालको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षमा ऋणपत्र निश्कासनको अनुमति पाउने कुमारी बैंक पाँचौ संस्था हो । यसअघि सिद्धार्थ बैंकले २ अर्ब ५० करोड, लक्ष्मी बैंकले २ अर्ब, प्रभू बैंकले १ अर्ब र सनराइज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन अनुमति पाएसँगै बिक्री गरिसकेका छन् । 

अनुमति पाएकामध्ये लक्ष्मी बैंक र कुमारी बैंकको ऋणपत्रको अवधि १० वर्षे रहेको छ । अन्यको ऋणपत्र भने ७ वर्षे अवधिको हो ।