काठमाण्डौ । कुमारी बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ १८२.३१ प्रतिशतको प्रगति हासिल गरेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा ४ करोड ८६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको बैंकले यो वर्ष सोही अवधिमा १३ करोड ७४ लाख नाफा कमाएको हो । 

मंगलबार बैंकले प्रकाशित गरेको बित्तीय विवरण अनुसार खूद ब्याज आम्दानी पनि १७ करोड ७९ लाखबाट वृद्धि भई २६ करोड २५ लाख पुगेको छ । 

यो बैंकले ४० अर्ब ३५ करोड निक्षेप संकलन गरी ३२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा यो बैंकले ३४ अर्ब ७३ करोड निक्षेप संकलन गरी २७ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको थियो । 

कुमारी बैंकको चुक्तापूँजी २ अर्ब ६९ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ छ । 

बैंकले निस्क्रिय कर्जा पनि घटाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २.९१ प्रतिशत रहेको यस्तो कर्जा घटाएर यो वर्षको सोही अवधिमा १.२६ प्रतिशतमा झारेको छ । 

कुमारी बैंकको प्रतिसेयर आम्दानी ३१.४९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५५.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.५९ गुणा कायम भएको छ ।