काठमाण्डौ । नेपालको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कुमारी बैंक लिमीटेड र सूर्य लाइफ इन्स्योरेन्सले निश्कासन गर्न लागेका हकप्रदका लागि रेटिंग प्रदान गरेको छ । 

इक्राले कुमारी बैंकबाट प्रस्तावित २० प्रतिशत हकप्रद सेयरलाई इक्रा एनपी आइपीओ ग्रेड फोर प्लसको रेटिङ प्रदान गरेको छ । यसको अर्थ आधारभूत भन्दा कमजोर अवस्थाको संकेत हो । तर, ग्रेड फोर समूहमा प्लस संकेतले त्यो समूहमा पर्ने कम्पनीमध्ये केही राम्रो अवस्था भन्ने जनाउँदछ ।

इक्रा नेपालले कम्पनीहरुको अवस्थाको अध्ययन गरी १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँदछ भने ग्रेड ५ ले कमजोर । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

कुमारी बैंकले आफ्ना सेयरधनीका लागि १०० रुपैयाँ अंकित दरका १ करोड १९ लाख ३८ हजार ९ सय ९१.६५ कित्ता हकप्रद बिक्री गर्न लागेको छ । हकप्रदबाट बैंकको चुक्तापुँजीमा १ अर्ब १९ करोड रुपैयाँ थप हुनेछ । हाल यो बैंकको चुक्तापुँजी ५ अर्ब ९६ करोड रहेको छ । कम्पनीलाई हकप्रद निश्कासनका लागि धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छैन ।

एनआइबिएल क्यापिटल लिमीटेड हकप्रद निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । कुमारी बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ४८ करोड २ लाख खूद नाफा आर्जन गरेको छ ।

यसैबीच, सूर्य लाइफ इन्स्योरेन्सको सन्निकट ४० प्रतिशत हकप्रदलाई इक्रा नेपालले आइपीाओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत अवस्था कमजोर छ भन्ने हो । यो कम्पनीको हकप्रदलाई पनि धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद बिक्री गर्न चाहेको छ । एनआइसी एशिया क्यापिटल हकप्रदका लागि निश्कासन तथा बिक्री प्रबन्धक रहेको छ । 

हाल यो कम्पनीको चुक्तापुँजी ६५ करोड ६२ लाख रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर ९४ करोड ५० लाखको उचाईमा पुुग्नेछ ।