काठमाडौँ । कुमारी बैंकले २० प्रतिशत हकप्रद निष्कासनका लागि आवेदन गर्ने मिति तोकेको छ ।  वैशाख ९ गते सम्म कायम शेयरधनीले बैशाख २८ गतेबाट आवेदन दिन सक्नेछन् । शेयर धनीले आवेदन दिने अन्तिम मिति जेठ ३१ गते बैंकिङसमयसम्म रहेको बताइएको छ । 
 
बैंकले हकप्रद प्रयोजनका लागि आज (वैशाख १०) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी यसअघि नै गराइएसकेकाले आइतबार अर्थात् वैशाख ९ गतेसम्म कायम शेयर धनीले मात्र हालको २० प्रतिशत हकप्रदका लागि आवेदन गर्न सक्नेछन् । २० प्रतिशत हकप्रद मार्फत् बैंकले १ करोड १९ लाख ३८ हजार ९ सय ९१ कित्ता हकप्रद विक्री गर्दैछ ।
 
वाणिज्य बैंकका लागि राष्ट्रबैंकले तोकेको चुक्ता पूँजी ८ अर्ब पु¥याउनका लागि कुमारीले फेरी पनि हकप्रदकै बाटो रोजेको हो । गतवर्ष ५० प्रतिशत हकप्रद जारी गरेको बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद पछि बैंकको चुक्ता पूज्ी ७ अर्ब १६ करोड ९५ हजार १ सय ६५ रुपैयाँ पुग्नेछ ।  राष्ट्रबैंकले तोकेको चुक्ता पूँजी कायम गर्न बैंकले थप करीव ८४ करोड रुपैया पूजी वृद्धि गर्नुपर्ने हुन्छ ।  हकप्रदबाट पनि नपुग पूजी बोनस वितरणमार्फत् संकलन गर्ने योजना बैंकको रहेको छ ।  
 
बैंकका सबै शाखा तथा सी–आश्वा सेवा प्रदायक बैंक तथा वित्तीय संस्थामाफत् बैंकको हकप्रदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यसका साथै अनलाईन सी–आश्वा सेवा लिइ सबै प्रक्रिया पूरा गरेका शेयरधनीले मेरो शेयरको अनलाईन पोर्टलमा गई घरमै बसीबसी हकप्रदका लागि तोकिएको अवधिभित्र जुनसुकै समयमा पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बैंकको शेयर रजिस्टार एनआइबीएल एस क्यापिटल रहेको छ ।