काठमाण्डौ । देशका प्रमुख शहरहरुलाई लोडसेडिङमुक्त गराएर प्रंशसा कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ताररहित शहर बनाउने अवधारणालाई सरकारले साथ दिएको छ । 

सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाण्डौलाई पहिलो चरणमा ताररहित शहर बनाउने र त्यसका लागि विद्युत वितरण प्रणालीलाई अण्डरग्राउण्ड गर्ने घोषणा गरेका हुन् । 

महराले विभिन्न प्रसारण लाइन निर्माणका लागि ६२ अर्ब ४७ करोड बजेट समेत विनियोजन गरेका छन् । 

अर्थमन्त्रीका अनुसार दुहबी हेटौडा प्रसारणलाइनलाई अब ४ सय केभी क्षमतामा बिस्तार गरिनेछ । यो काम २ वर्षभित्र सम्पन्न भइसक्नेछ । यस्तै, ४ सय केभीकै जयनगर बुटवल प्रसारण लाइनका लागि समेत बजेट विनियोजन गरिएको छ । ढल्केबर मोजफ्फपुर प्रसारण लाइनलाई ४ सय केभीमा स्तरोन्नति गर्न समेत बजेट छुट्याइएको अर्थमन्त्रीले बताएका छन् ।